इलाम माई नगरपालिका–८ मैनाचुलीकी सिर्जना लावती राई खानेपानी बोक्न बिहान झिसमिसेमै आधा घन्टाको बाटो ओरालो झर्छिन्। बिहान ६ नबज्दै खोल्सामा रहेको धारामा पानी थाप्न पुगेकी सिर्जना घर आइपुग्दा १० बज्छ।
‘एक गाग्रो पानी थाप्न दुई घन्टाभन्दा बढी त पालो नै पर्खनुपर्छ’, सिर्जना भन्छिन्। भरिएको गाग्रो डोकामा बोकेर नाक ठोकिने उकालो झन्डै एक घन्टा हिँडेपछि बल्ल घर पुग्छिन्। यसरी कष्टकर रूपमा पानी बोक्नु उनको एक्लो बाध्यता हैन, सिंगो मैनाचुली गाउँकै नियति हो। ‘पानीको दुःखको त कुरै नगरौँ। बिहान ६ बजे आएको मान्छे १० बजे मात्र घर पुगिन्छ। नाक ठोकिने उकालो ४५ मिनेटसम्म पानी बोकेर जानुपर्छ। हामीलाई अलिक नजिक हो। अरूलाई त दुई घन्टासम्म लाग्छ,’ उनी भन्छिन्, ‘हामीलाई सरकारले कम्तीमा पानीको व्यवस्था गरिदिए हुने। तर, सबैले आश्वासन मात्र दिन्छन्। कसैले पानीको व्यवस्था गरिदिँदैनन्,’ उनी भन्छिन्।
गाउँमा खानेपानी छैन। खानेपानीका लागि सरकारी तवरबाट कुनै पहल पनि भएको छैन। तर, डाँडाबाट झापासम्मको दृश्य हेर्न प्रदेश सरकारले ४० लाखको योजना त्यहाँ पारेको छ। यद्यपि, काम भने सुर भएको छैन। चुरे क्षेत्रमा पर्ने मैनाचुलीको डाँडो सुक्खा छ। त्यहाँ स्थानीय घन्टौँ अप्ठ्यारो बाटोमा यात्रा गरेर पानी बोकेर दैनिकी चलाउँछन्। यहाँका अधिकांश महिलाको काम नै पानी बोक्ने र भान्सा टार्ने हो। पानी ल्याउँदै बिहान बित्छ। त्यसकारण पनि उनीहरू अरू केही काम गर्न भ्याउँदैनन्।
मैनाचुलीकी गौरीमाया मुखियालाई पानी बोकेर धाराबाट घर पुग्दा आधा घन्टाभन्दा धेरै लाग्छ। डोकोमा पानी बोक्न निकै मुस्किल छ। बाटो अप्ठ्यारो भएका कारण निकै समस्या हुने गरेको उनी बताउँछिन्। ‘ठुल्ठूला डिल उक्लिनुपर्छ। बाटो अप्ठ्यारो छ। पानी नहुँदा बाली लगाउँदा पनि राम्रो हुँदैन,’ उनी भन्छिन्, ‘अस्ति त पानी ल्याउने भनेर नप्दै हिँड्दै थिए। उनीहरू पनि हराए। डाँडामा पानी ल्याइदिए त हामीलाई कति सजिलो हुने थियो।’