बाँकेको एकमात्र उप-महानगरलाई महानगर बनाउन पहल सुरु भएको छ।
जिल्लाका आठ स्थाानीय तहमध्ये एक मात्र उप-महानगरपालिकाका रुपमा रहेको नेपालगन्जलाई महानगरपालिका बनाउनका लागि पहल थालिएको हो।
लामो समयदेखि नेपालगन्जका मेयर डाक्टर धवल शम्शेर राणा यो विषयमा उठाउँदै आएका छन्। यस अघि कोहलपुर र नेपालगञ्जलाई मिलाएर महानगर बनाउने विषयमा अनौपचारिक रुपमा छलफल हुने गरेका थिए।
तर दुवै पालिकाले चालु आर्थिक वर्षको कार्यक्रममा नै महानगरको लागि महल गरिने कार्यपालिकाको बैठकबाट निर्णय समेत गरिसकेका छन्।
दुई महिना अघि कोहलपुर र नेपालका मेयरको सहभागितामा सम्भाव्यता अध्ययनलगायतका विषयमा छलफल भएको थियो। त्यसको दुई महिनापछि नेपालगञ्जमा समेत यस विषयमा छलफल भएको छ।
नेपालगन्ज उप–महानगरपालिकाले महानगरपालिकाका लागि डिपीआरसँगै एकीकृत विकास योजना समेत तयार भइरहेको जनाएको छ।
मेयर डाक्टर धवल शम्शेर राणाले पछिल्ला गरिएकै कार्यक्रमको निरन्तरता स्वरुप छलफल भएको जानकारी दिए। राणाले राजनीतिक पार्टीको आवद्धता भन्दामाथि उठेर आम जनतासँगको अन्तरक्रियालाई जोड दिन सुझाव दिएका छन्।
उनले भने जस्तो कोहलपुर र नेपालगन्ज मिलेर महानगर बनाउने कुरामा राजनीतिक दलबीच मतभिन्नता देखिन्छ। आमनागरिक सहरलाई महानगरपालिका बनाउन इच्छुक भएको दाबी छ।
तर राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरु भविष्यको राजनीतिक पदलाई प्राथमिकता दिने भएकाले जनताको सुझाव महत्वपूर्ण हुने उनको धारणा छ।
डिपीआरको काम गरिरहेको संस्था अपडेनका मनिषराज जोशीले प्रारम्भिक चरणको कार्य असारभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढेको जानकारी दिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति थियो।
अध्ययन टोलीको महागनगको धारणा बुझ्नको लागि वडा तहसम्म पुगेर पनि काम गर्नेछ।