दयाराम आचार्य
‘पहिले छोरीचेलीलाई पढाउने चलन थिएन, पढ्ने विद्यालय पनि नजिक हुँदैनथ्यो त्यसैले पढ्ने रहर मार्नु पथ्र्यो, आज त्यही रहर पूरा गरिरहेको छु’ ६७ वर्षीय प्रेमकुमारी पौडेलले भनिन्।
सानोमा विद्यालय देख्न नपाएको बताउने उनी अहिले बिहान ११ बज्नै लाग्दा झोलामा किताब कापी लिएर विद्यालयमा पढ्न निस्कनु दैनिकी बनेको छ।
कावासोती नगरपालिका–२ मा शिव सामुदायिक सिकाइ केन्द्रले सञ्चालन गरेको गृहिणी शिक्षा (अनौपचारिक प्रौढ शिक्षा) मा अध्ययन गर्न उनी जस्तै अन्य महिला पनि आउने गरेका छन्।
अध्ययन गर्ने उमेरमा विभिन्न कारणले नपाएका गृहिणी बिहान ११ देखि ३ बजेसम्म यहाँ रहन्छन्। अहिले पढ्ने मौका पाउँदा धेरै खुशी लागेको पौडेलले बताइन्।
दुई वर्षदेखि यहाँ पढन थालेकी उनले अहिले छोराछोरीको नाम अङ्गे्रजीमा लेख्न, मोबाइलमा पैसा राख्न, सजिव, निर्जीव वस्तु चिन्न सक्दा दङ्ग छिन्।
‘मलाई अहिले आफू बच्चै भएको जस्तो लागेको छ, खुशी लागेको छ, घरबाट हिँडेर आउनसक्ने बेलासम्म र सिकाइ केन्द्रमा पढन पाउँदासम्म आउछु’ पौडेलले भनिन्, ‘बच्चामा पढन् नपाएको रहर मेटिएको झैँ लागेको छ, अहिले तिर्खा यही पढाइले मेटे जस्तो हुन्छ।’
स्याङ्जा सतुङ्गा जन्मनु भएकी उहाँ त्यति बेला गाउँमा ५ कक्षा सम्मको विद्यालय भएको भए पनि छोरालाई पढाउने, छोरीलाई नपढाउने चलन रहेको सम्झिन्छन्। ‘छोरी त कोदो रोप्ने, घाँस, दाउरा गर्ने, गाई बस्तु चराउने यस्तै गर्नुप¥यो, दाजुभाइ स्कुल जानुहुन्थ्यो’ पौडेलले भनिन्।
त्यस्तै ६५ वर्षीय चन्द्रमाया सिग्देललाई पनि सानोमा पढ्न नपाएर अहिले अक्षर चिन्न पाउँदा धेरै खुशी लागेको बताइन्।
‘विद्यालय टाढा हुन्थ्यो, छोरीलाई पढाउन पठाउने चलननै कम थियो’ सिग्देलले भनिन्, ‘अहिले कतै जाँदा के लेखेको छ भनेर चिन्न सक्ने भएकाले सजिलो भएको छ। कतै गए कहाँ आइएछ भनेर ठाउँ चिन्न सकिन्छ, खुशी लाग्छ।’
पौडेल र सिग्देल जस्तै यहाँ कावासोतीका करीब ४२ गृहिणी भर्ना भएका छन्।
यहाँ तीन तहको पढाइ हुने सिकाइ केन्द्रकी परिचालक नूतन थापा पुनले बताइन्।
भर्ना भएकोमा केही समय मिलाएर फुर्सदमा आउने गरेको भए पनि करीब २५ जना नियमितजसो आउने गरेको उनले बताइन्।
नगरपालिकाको सहयोगमा अहिले कक्षा सञ्चालन भइरहेको छ। यसले विद्यालय उमेर पुगेर पनि विद्यालय जान नपाएकालाई अध्यन गर्न सहज बनाएको छ। रासस