मध्यावधिको मुडमा कांग्रेस

बाह्रखरी

काठमाडाैं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मध्यावधिको मुडमा पुगेको छ । प्रतिनिधिसभा विघटन हुँदा संवैधानिक संकटका कारण निर्वाचनमा जाने निर्णय गर्न नसकेको कांग्रेस अब भने निर्वाचनले मात्र निकास दिने बुझाइमा पुगेको छ । तर, उसले निर्णयमा हतारो नगर्ने र केही समय कुरेर परिपक्व निर्णय गर्ने संकेत गरेको छ ।

विगतमा संस्थापन निर्वाचनकै पक्षमा भए पनि प्रतिनिधिसभा विघटनलाई प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादतर्फ उन्मुख कदम भनेका कारण निर्वाचनमा जाने औपचारिक निर्णय गर्न सकेको थिएन । तर, अहिले संस्थापन मात्र होइन- संस्थापनइतर पक्षसमेत निर्वाचन नै निकासको माध्यम हुनसक्ने र संवैधानिक रुपमै निर्वाचनमा जाने अवस्था आउनसक्नेतर्फ सचेत देखिएको छ । त्यसैले कांग्रेस अब निर्वाचनमा होमिने मुडमा देखिएको छ । 

“एकपछि अर्को गर्दै समस्या आएका छन्, यो जटिलताबाट बाहिर निस्कन के गर्न सकिन्छ भनेर अब हामी पार्टीभित्र छलफल गर्छौं,”वरिष्ठ नेता रामचन्द्र पौडेलले बाह्रखरी भने, “हाम्रो मुख्य जिम्मेवारी संविधान र लोकतन्त्रको रक्षा गर्ने हो । संविधान र लोकतन्त्रको रक्षा कसरी हुनसक्छ भनेर हामी पार्टीभित्रको छलफलबाट निष्कर्षमा पुग्छौं ।” प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्दा त्यसविरुद्ध खुरेर उभिएका पौडेल अहिले भने निकासका लागि पार्टी छलफलबाट निर्णयमा पुग्ने बुझाइमा छन् ।

प्रकाशित मिति: : 2021-03-08 20:39:00

प्रतिकृया दिनुहोस्