सम्राज्ञी भण्डारी
‘मलाई कसले छुन सक्छ र भन्ने बेला पनि थियो । आज यसरी वृद्धाश्रममा बस्नुपर्ला भनेर सोचेकै थिइनँ । समयको खेल रहेछ, समयले मानिसलाई कहाँबाट कहाँ पुर्याउँदोरहेछ,’ ८२ वर्षीय गोविन्द केसीले समयसँग गुनासो गरे ।
२३ महिनाअघि घर–व्यवहारले विरक्तिएर हिँडेका उनलाई बालाजु प्रहरी चौकीले काठमाडौं गोंगबुमा रहेको हिमालय वृद्घाश्रममा ल्याइदियो । यस आश्रममा अहिले उनीजस्तै ३८ (१९ महिला, १९ पुरुष)ले आश्रय पाएका छन् । यहाँ आइपुग्नुको पछाडि हरेकका आ–आफ्नै कथा छन् ।
यस ठाउँमा आश्रय पाएपछि गोविन्द घर फर्केनन्, उनको थातथलो बालाजु हाइट हिलेडोलमा हो । उनका तीन छोरा, दुई छोरी र श्रीमती छन् । श्रीमती कान्छो छोरासँग बस्छिन् । छोराछोरीले आफू खुसी गर्न थालेपछि आफू विरक्तिएर घरबाट हिँडेको उनी बताउँछन् ।
८२ वटा वसन्त पार गरेका उनले जीवनको थुप्रै समय सरकारी कार्यालयहरूमा कार्यालय सहयोगीका रूपमा काम गरे, तर कतै स्थायी हुने अवसर पाएनन् । उनको पहिलो जागिर २०१२ सालमा अमिनी गोश्वाराबाट सुरु भएको हो । त्यहाँ जागिर सुरु गरेको चार वर्षमा बुवा बितेकाले उनले जागिर छोड्नुप¥यो । उनी भन्छन्, ‘स्थायी जागिर थिएन, घरमा बुवा बितेपछि महिना दिनभन्दा बढी काजकिरिया र घर–व्यवहारमै भुल्नुप¥यो, जागिर छुटिहाल्यो ।’