क्यान्सरपीडित सविताद्वारा उपचारमा सहयोग गर्न अपिल

हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारकी २३ वर्षीया सविता थापाले क्यान्सरको उपचारका लागि सहयोगको याचना गरेकी छन्। 

शिक्षण अस्पताल काठमाडौँले निधारमा भएको क्यान्सरको उपचारका लागि कम्तीमा रु १० लाख खर्च लाग्ने बताएपछि सविताले सहयोगको याचना गरेकी हुन्। 

करिब सात महिनाअघि क्यान्सर पहिचान भएको पीडित सविताको हाल शिक्षण अस्पताल काठमाडौँमै उपचार भइरहेको छ। क्यान्सर निदानका लागि सवितालाई किमो दिने तयारी भइरहेको पीडित सविताका आफन्त सन्तोष राईले बताए। 

गत भदौमा निधारभन्दा केहीमाथि निस्किएको फोका बढ्दै गएपछि परीक्षणका क्रममा सवितालाई क्यान्सर भएको पुष्टि भएको थियो। 

निधारमाथि निस्किएको मासुको फोका क्रमशः बढ्न थालेपछि उनी गत मङ्सिरमा १४ हजार ऋण काढेर उपचारका लागि काठमाडौँ पुगेका थिए। 

काठमाडौँमै रहेकी दिदीसँग अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराउन पुग्नुभएकी सवितालाई शल्यक्रिया गर्न रु तीन लाख खर्च लाग्ने बताएपछि खर्च जम्मा गर्न नसक्ने भन्दै कोठा फर्किएका थिए।

 क्यान्सर भएको पुष्टि भएपछि सविता गत फागुन ११ गतेदेखि शिक्षण अस्पतालमै बसिरहेकी छन्। आर्थिक अवस्था कमजोर भएका सविताको उपचारका क्रममा हालसम्म रु डेढ लाखभन्दा बढी खर्च भइसकेको छ।

घरमा छ वर्षकी छोरी र चार वर्षका छोरालाई छाडेर उपचारका लागि काठमाडौँ जानुभएकी सवितालाई क्यान्सरको उपचारसँगै आफ्ना छोराछोरीको लालनपालनको निकै चिन्ता लागेको छ । 

'ऋण खोजेर उपचारका लागि काठमाडौँ पुगेको र अहिलेसम्म उपचारका लागि रु डेढ लाख ऋण लिइसक्यो' उनले भनिन्, 'उपचार गर्दा रु १० लाख खर्च लाग्छ भनेको छ। अब मेरो जीवन या मरण शुभेच्छुकको साथ र सहयोगमा निर्भर छ। आफूले मरिन्थ्यो! छोराछोरीको बिजोग हुनेभयो।' 

क्यान्सर पीडित सविताको उपचारका लागि रकम जुटाउन आफन्तले सहयोग अभियान थालेका छन्। क्यान्सरको उपचारका क्रममा लाग्ने खर्च आफै जुटाउन सक्ने अवस्था नभएकाले आफन्तले ‘सविता थापा उपचार सहयोग अभियान’ थालेका हुन्। रासस 

प्रकाशित मिति: : 2021-03-06 19:45:00

प्रतिकृया दिनुहोस्