मास्टर सेफ सन्तोष साहको स्वागतमा बुधवार नाथम परिषर् सजिसजाउँ पारिएको थियो। निकै उत्साहमय वातावरण थियो। उनी बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खानाको परिकार प्रस्तुत गरेर उपविजेता भएका थिए। उपाधि जितेयता उनको पहिलो नेपाल भ्रमण हो।
बुधवार दिउँसो ११ बजेदेखि नै रवि भवनस्थित प्रतिष्ठान प्राङ्गणमा विद्यार्थी र पदाधिकारी उनको स्वागतमा लामबद्ध भएर धैर्य साथ कुरिरहेका थिए। अग्लो कद, सेतो सेफको पहिरनमा सजिएर मुस्कुराउँदै साह रवि भवन पुग्दा तालीको गड्गडाहटको साथ खादाले स्वागत भएको थियो।
विद्यार्थीहरुको न्यानो स्वागत र उत्साह देखेर भावुक हुँदै उनले नमस्कार टक्र्याए। उनले लामो लाइन पार गर्दै नाथमको गेट प्रवेश गरेका थिए। भीडमा एक जना पदाधिकारीको ढाका टोपी मागेर पहिरिए, अनि अगाडी बढे।
स्वागत कार्यक्रम सञ्चालनको क्रममा प्रमुख प्रशिक्षक मनराजा खत्रीले मास्टर सेफ साहलाई बधाई दिँदै नाथमको इतिहास र परिचयमाथि प्रकाश पारेका थिए।
विद्यार्थी, प्रशिक्षक र प्रतिष्ठानका पदाधिकारीले खचाखच भरिएको नाथमकाे 'मल्टिपर्पोज' हलमा मास्टर सेफ साहले सम्बोधन तथा उनकाे जीवनकाे लामो अनुभव बाँडेका थिए।
मास्टर सेफ साहलाई नेपाल पर्यटन तथा होटेल ब्यवस्थापन प्रतिष्ठान (नाथम) ले बुधवार भव्य स्वागत तथा सम्मान गरेको हो।
स्वागत कार्यक्रम समारोहमा कार्यकारी निर्देशक दीपककुमार थापाले साहलाई प्रशंसा–पत्र तथा मायाको चिनो दिएर सम्मान गरेका हुन्। शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’ का उपविजेता हुन्।
बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खानाको परिकार पेश गर्न पाउँदा, मातृभूमिको नाम विश्व सामु राख्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस भएको उनले बताए। 'सेमिफाइनलसम्मको लक्ष्य राखेर प्रतियोगितामा भाग लिएको थिए,' उनले सम्झिए, 'नेपाल लगायत विश्वभरि छरिएर बसेको नेपालीको मन जित्न सफल भए, मास्टर सेफ जितेकै अनुभव गरे।'
दुई दशक इन्डियन खानाको परिकार बनाएर इन्डियन सेफको रुपमा परिचय बनाएका उनले जम्मा २ वर्षको अध्ययन अनुसन्धान र ज्ञान बटुलेर प्रतियोगितामा नेपाली परिकार तयार पारेको सुनाए।
प्रतियोगितामा उनले नेपाली खानाको परिकारसँगै नेपाली भावना समेत पस्केको र यसले नेपालको हिमाल, पहाड र तराइको एकता र सद्भावलाई प्रतिनिधित्व गरेको उल्लेख गरे। यो आफ्नो जीवनमा सवैभन्दा खुशीको क्षण भएको उनले बताए।
बीबीसी–वानद्वारा प्रसारित चर्चित मास्टर सेफ प्रतियोगितामा नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर मास्टर सेफ साहले निर्णायक तथा दर्शकको मन जितेका थिए। उनले नेवारी मौलिक परिकार योमरी लगायत तरुलको खाना, बेथेको साग, रोस्टेड काँक्रोको बिया, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी प्रस्तुत गरेका थिए। उनले भाङको चट्नी, मकैको रोटी, प्याजको अचार, स्याउका अचारलगायत नेपाली खानाका परिकार प्रतियोगितामा प्रस्तुत गरेका थिए।
'जीवनमा सफल हुनलाई जुनून हुनुपर्छ र कामप्रति माया र निरन्तर लागि रहनुपर्छ,' विद्यार्थीमाझ प्रेरणादायी भाषण दिएका साहले बताए। ११ वर्षको उमेरमा सिरहाको दुर्गम गाउँमा दिनमा २० रुपैयाँको प्लास्टिकदेखि ५० रुपैयाँको पाउरोटी बेच्दा सफलताको अनुभव गरेको सुनाउँदा उनी भावुक बने।
त्यस्तै एसएलसीमा ३ विषय लागेर फेल हुँदा भारतमा गएर होटलमा भाँडा माझ्ने काम गर्दा महिनाको भारू ९०० कमाएको कथा पनि उनले सुनाए, 'मेरो पहिलो कमाइले आमालाई साडी किन्दिएको थिए।'
पछि भारतमा पाँचतारे होटलमा सेफमा पदोन्नति हुँदै युकेको लण्डनमा सेफको रुपमा स्थापित भएको संघर्षको कथा सुनाउँदा हल चकमन्न थियो। उनको प्रवचन नाथमका विद्यार्थीले निकै रोचक मानेर सुनिरहे। उनले जिन्दगीमा विभिन्न चरणको सफलताको कथा सुनाए।
यस्तै नाथम जस्तो सुप्रसिद्ध होटेल ब्यवस्थापन प्रतिष्ठानमा खुट्टा टेकेर अनुभव साट्न पाउँदा हर्ष लागेको बताए। 'मास्टरसेफ उपविजेतापछि यो मेरो पहिलो शैक्षिक संस्थाको भ्रमण हो, ' उनले भने। उनले नेपालको सिरहा जिल्लाको कर्जन्हा गाउँमा गरीब किसान परिवार जन्मेको सुनाए।
सानैमा पिताजीको देहान्त भएको र आमाले निकै दुःख गरेर हुर्काएको सम्झिदा एकछिन बोली अवरुद्ध भएको थियो। विद्यार्थी भाईबहिनीलाई सम्बाेधन गर्दै उनले आमा, बाबालाई इज्जत, सम्मान र निकै माया गर्न सल्लाह दिए, 'यो संस्कार पश्चिमा देशमा छैन र हाम्रोजस्तो पूर्वीय देश नेपालमा छ।'
मिहिनेत र पेशाप्रतिको मोहले आफू यहाँ पुगेको सुनाउँदा हलमा उपस्थित विद्यार्थीहरु मन्त्रमुग्ध भएर सुनिरहेका थिए। नेपाली संस्कृतिमा गुरुहरुको इज्जत गर्ने बानी र उनीहरुले सिकाएको ज्ञान र सीप शीरोपर गरेमा जीवनमा होटल उद्योगमा एक सफल व्यक्ति बन्ने विश्वास दिलाए।
नाथमका कार्यकारी निर्देशक दीपककुमार थापाले बीबीसी मास्टर सेफ प्रतियोगिताबाट नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर नेपाल र नेपालीको पहिचानलाई विश्वभर नयाँ उचाई दिलाएकोमा मास्टर सेफ साहको खुलेर प्रशंसा गरे।
कार्यक्रमामा बोल्दै उनले छिट्टै नाथमले ७७ जिल्लाका रैथाने खानाको परिकारको अध्ययन अनुसन्धान गरेर तथ्याङ्क (फुड ब्याङक) राख्ने सोच रहेको पनि बताए। ' नेपाली खानाको परिकारबारे सिक्ने, तालिम र ज्ञान लिन चाहनेको लागि फुड ब्याङ्कले महत्वपूर्ण भूमिका खेल्नेछ ' उनले थपे।
मास्टरसेफ साहले नाथमको ट्रेनिङ किचन, वेकरी, रेस्टुरेन्ट, डेमोन्स्ट्रेशन ल्याबका साथै मोडेल होटलको अवलोकन गरेका थिए। उनले ब्याचलर र मास्टर लेवलका कक्षामा छोटो गेष्ट लेक्चर र अन्तरक्रिया समेत दिएका थिए।
कार्यक्रममा आधुनिक नेपाली आतिथ्य (पर्यटन) क्षेत्रका लिजेण्ड सेफहरु पुष्प थापा, रामकृष्ण पन्त, केदार सिलवाल, रत्न थापा, गोविन्द नरसिङ केसी (गोदवा), कृष्णकाजी बस्नेत, पर्शुराम खड्का, सूर्यकिरण श्रेष्ठ, लक्ष्मण भण्डारीलगायतको उपस्थिति थियो।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ४८ वर्षअघि स्थापना भएको एक मात्र सरकारी शैक्षिक संस्था हो। होटल र पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २०२९ सालमा स्थापना भएको यो प्रतिष्ठानले होटल व्यवस्थापन तथा पर्यटन विषयमा स्नातकदेखि स्नातकोत्तर तहको शैक्षिक अध्ययन, अध्यापन तथा पर्यटनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।
हाल नाथममा बीएचएम, बीटीटीएम र एमएचएम तहमा करीब १६ सय विद्यार्थी अध्ययनरत छन्। हालसम्म संस्थाले पर्यटन क्षेत्रका करिब ५४ हजार होटल दक्ष जनशक्ति उत्पादन गरिसकेको छ।