जीवनको छन्द कहाँ कविताको सरह मिलाउन सकिँदो रहेछ र?
भोगाइका गीतहरूको लय पनि सधैं आफूले सोचेजस्तो नहुँदो रहेछ।
त्यसैले त नेपाली संगीत क्षेत्रलाई मीठामीठा गीत दिएका एक गीतकारले आजभोलि गीत सुन्दैनन्। गीत संगीतको मात्र कहाँ हो र? शहरको चोकमा उभिएका उनी यहाँको कोलाहलबारे पनि बेखबर छन्।
जोरपाटी चोकमा उभिएको घर। सडकको धुलो सजिलै उडाएर कोठासम्म ल्याउँछ बतासले। त्यसैले सिसाको झ्याल खोल्न निषेध छ। घाम भने कोठाभरी पस्छ। न्यानो ताप्दै दिनभर व्यस्त सडक नियाल्छन् कन्चन पुडासैनी।
मान्छेको भिड र गाडीको चापले निकाल्ने कर्कश आवाजको भने भेउ पाउँदैनन् उनी। उनको कानले कम सुन्न थालेको केही वर्ष भयो। आवाजहरू मधुर बन्दै जाँदा शान्त हुँदै गएको छ उनको दैनिकी।
आँखा भने प्रष्टै देख्छन्, लेखपढ गर्न सक्नेगरी। अक्षर केही बाङ्गा टिङ्गा हुन थालेका छन्। तर, अक्षरभन्दा पर जाने ठाउँ कहाँ नै पो छ र? शरीरमा बाँकी ऊर्जाले टाढा कहीँ पुर्याउँछ भने त्यो घरकै भान्सासम्म हो।