अग्लो कद, चाउरी पर्दै गएका गाला, मैलो लुकुनी, कान छोप्ने गरी लगाएको उनीको टोपी अनि हातमा एक मिटरजति लामो लट्ठी।
एकाबिहानै यस्तै भेसमा भेडाका बथान अघि लाएर निस्कन्छन् ताप्लेजुङ सिदिङ्ग्वा–३ का ५३ वर्षीय टुकबहादुर गुरुङ। दिनभर चरनका लागि सानाठूला थुम्की डुलाएर भेडाका बथानलाई साँझमा घर फर्काउँछन्। भोलिपल्ट उसैगरी हातमा लौरो लिएर भेडा पछिपछि उकालीओराली।
सुदूरपूर्वको हिमाली जिल्लामा टुकबहादुरले यसरी भेडाको पछि लागेर २६ वर्ष बिताइसके। ६ महिना लेक, ६ महिना बेसी। ज्यानले साथ दिएसम्म भेडीगोठ नै स्याहार्ने उनले निश्चय गरेका छन्। किनकि, यो उनको पुर्ख्यौली पेसा हो। उनलाई लाग्छ, बाउबाजेले थालेको पेसालाई बीचमै छाड्न हुँदैन।
यो विकट गाउँमा भेडा पाल्न उनकाे ७० लाखजति लगानी परेकाे छ। यिनै भेडाको दूध, उन र मासु बेचेर उनले परिवार धानेका छन्। यति मात्र होइन, उनको भेडीगोठमा काम गर्ने अन्य पाँच जनाको परिवार पनि यसैबाट पालिएको छ।