प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले कृषि बजारलाई आधुनिक बजारका रुपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बारा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले बारा सदरमुकाम कलैयामा प्रदेश नं २ कै नमूना बजार बनाउनका लागि आफू लागिपर्ने बताए।
मन्त्री साहले अन्नवाली, तरकारी र माछाको पाकेट क्षेत्रका रुपमा विकास भइरहेको बारामा किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरणको व्यवस्थापनका लागि प्रदेश सरकार अग्रसर भएर अगाडि बढ्ने उल्लेख गर्दै सिँचाइको उचीत व्यवस्थापन गरेर यो जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सङ्घका कार्यवाहक अध्यक्ष प्रदीपकुमार साह (गोल्डेन) ले मन्त्री साहलाई स्वागत गरेका थिए।
कलैयामा सङ्घले करीब एक बिघा १२ कट्ठा जग्गामा बनाएको कृषिसेडलाई बजारका रुपमा सञ्चालनमा ल्याउन व्यापारीले अनुरोध गरेपछि मन्त्री साहले सो सेडको अनुगमनसमेत गरेका थिए।
सो अवसरमा उहाँले एक महीनाभित्र बजार सञ्चालनका लागि आवश्यक डिपिआर बनाई मन्त्रालयमा पेश गर्न आग्रह गरे। उनले आगामी आर्थिक वर्षको बजेटमा नै पर्नेगरी यससम्बन्धी व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे।
अनुगमनका क्रममा संविधानसभा सदस्य प्रमोदप्रसाद गुप्ता, प्रदेशसभा सदस्य पारसप्रसाद साह, जसपाका नेता शिवनाथ पटेल, उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष तेजनारायण साह, सञ्जय गुप्ता, महासचिव रामअशिष साह, सन्तोष साह, शिवजीप्रसाद यादव, गोपाल ठाकुरलगायत सङ्घका पदाधिकारी तथा सदस्य सहभागी रहेको वाणिज्य सङ्घका कार्यालय सचिव अजय गुप्ताले जानकारी दिए।
मन्त्री साहले कलैयास्थित भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कार्यालयको पनि आजै उद्घाटन गरे। सो अवसरमा सांसद रामबाबुकुमार यादव, प्रदेशसभा सदस्य पारस साह लगायतको सहभागिता थियो। रासस