न गर्मीमा ओत लाग्ने त्रिपाल छ, न त चिसोमा न्यानो दिने छाप्रो।
छ त खुला आकाश र त्यही खुला आकाशमुनि
सडकछेउ टुसुक्क बसेर ४६ वर्षदेखि खानेतेल र मट्टीतेल बेच्दै आएका छन्, ७० वर्षीय रामशंकरलाल देव।
सप्तरी, राजविराज नगरपालिकास्थित कृष्ण मन्दिरको ठिक सामुन्ने छ उनको पसल। यो पसल सुरू गर्दा उनी जम्मा २४ वर्षका थिए। भर्भराउँदो जवानीदेखि प्रौढ हुँदै अहिले वृद्धावस्थासम्म उही ठाउँमा उसैगरी उही व्यवसाय गर्दै आएका रामशंकरलाललाई राजविराज हटियामा नचिन्ने सायदै कोही होला।
उनलाई यहाँका स्थानीय र हटियामा आउने-जाने सबैले 'देवजी' का नामले चिन्छन् र यही नामले बोलाउँछन्। चाहे ती उनका समवयी हुन् वा युवा वा बालक।
‘मैले जुन बेला मट्टीतेल र खानेतेल बेच्न सुरू गरेको थिएँ, त्यति बेला मट्टीतेलको भाउ पैसामा थियो,’ आफ्नो युवावस्था सम्झिँदै देवजीले भने, ‘हामी डिलर र मिलहरूबाट सस्तोमा तेल किनेर ल्याउँथ्यौं र दुई-चार पैसा बढाएर बेच्थ्यौं।’
पहिले-पहिले जो पनि खुला तेल नै खान्थे, उनको दोकान खुब चल्थ्यो। टुकी बाल्नदेखि खान पकाउनसम्म मट्टीतेलकै प्रयोग ज्यादा हुन्थ्यो। त्यो समय देवजीलाई पसलमा भ्याइनभ्याइ थियो।