नारेश्वर तालमा एक करोड मुआब्जा वितरण

बिएल संवाददाता

काठमाडाै‌ं
Gorkhapatra

व्यास नगरपालिका–१० मा निर्माण गर्न लागिएको नारेश्वर तालका लागि जग्गा अधिग्रहण गरिएका उपभोक्ताहरुलाई नगरपालिकाले रु एक करोड ३७ लाख ६० हजार ५०५ मुआब्जा वितरण गरेको छ। 

नगरपालिकाले ताल निर्माणका लागि करीब २५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। 

आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। 

गत वर्ष र यस वर्ष गरी २० जनालाई रु एक करोड ३७ लाख ६० हजार ५०५ वितरण गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए। बढी मुआब्जा पाउनेमा रु १० लाखसम्म रहेको उनले बताए। 

उपभोक्ताको २५ र ऐलेनी जग्गा करीब २० रोपनी गरी कूल ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न लागिएको छ। 

यसका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड १५ लाख बजेट विनियोजन गरिसकेको बताइएको छ। 

देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्वर ताल पर्यटन प्रवद्र्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो टुरिजम क्षेत्र बनाउन लागेको हो। 

पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडामा वनभोजस्थल र भ्यू टावर निर्माण गरेर फूलै फूलको बगैँचा बनाउने योजनाअनुरुप काम भइरहेको वडाध्यक्ष सापकोटाले बताए।

‘सो स्थानमा अहिले सार्वजनिक शौचालय र ट्रष्ट निर्माण गर्ने काम भइरहेको छ’ उनले भने, ‘उक्त स्थानबाट सिधै फुड ट्र्याक बनाएर खहरेस्थित छाङ्ग बाराही मन्दिर जोड्ने लक्ष्य रहेको छ।’

 ४० फिट अग्लो उचाइको भ्यू टावर निर्माणका लागि डिपिआर तयार भइसकेको उल्लेख गर्दै वडाध्यक्ष सापकोटाले सो टावर निर्माणका लागि नगरपालिकाले रु १५ लाख बजेट समेत विनियोजन गरिसकेको जानकारी दिए। 

व्यासमार्ग हुँदै पर्यटकहरु छाङ्ग बाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिँढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ। 

देवीडाँडामा निर्माण गरिएको भ्यू टावरबाट दृश्य अवलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा होमस्टेमा पुगेर बास बस्ने व्यवस्था मिलाइने व्यवस्था गर्न लागिएको बताइएको छ।

भ्यू टावरबाट जिल्लाको अधिकांश भाग देख्न सकिन्छ। पहाडकी रानी नामले परिचित बन्दिपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र  गलेखामकोटलगायत स्थानको अवलोकन गर्न सकिन्छ। 

नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हँुदै पृथ्वीराजमार्गमा पुगेर पर्यटकहरु गन्तव्यमा पुग्न सक्नेछन्।

तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्र्याक बनाउने कालिका जङ्गलमा रिसोर्ट निर्माण गर्नेलगायत संरचना निर्माण गरिनेछ। ‘ताल निर्माणको प्रक्रिया बल्ल सकिएको छ’ उनले भने। 

व्यापारिक केन्द्र भएन सञ्चालन

पशुपन्छी तथा कृषि बजार व्यवस्थापनका लागि बन्दिपुर गाउँपालिका–४ डुम्रे बजारस्थित निर्माण गरिएको व्यपारिक बजार केन्द्र सञ्चालनमा आउन सकेको छैन। 

डुम्रे भन्सार नयाँ शहर आयोजनाले व्यपारिक बजार केन्द्र निर्माण गरेर गाउँपालिकालाई बुझाएको झण्डै डेढ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो।  

अव्यवस्थितरुपमा पशुपन्छी र कृषि बजार सञ्चालन हुँदा बजार क्षेत्रमा दुर्गन्ध बढ्नाका साथै अशोभनीय देखिएकाले त्यसका लागि छुट्टै व्यवस्थित बजार बनाउन लागेको हो। 

आयोजनाले विसं ०७४ जेठ १० गते सम्झौता गरी विसं ०७६ जेठ ७ मा सो केन्द्रको निर्माण सम्पन्न गरेको थियो। 

विसं ०७६ असोज ९ गते सो केन्द्र गाउँपालिकालाई हस्तान्तरण गरिसकेको आयोजनाका इन्जिनीयर मनोज पन्थले जानकारी दिए। 

शुरुका दुईतीन महिना भाडा नलिने र त्यसपछि भाडादर कायम गरेर भए पनि व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले पहल थाल्नुपर्ने अवस्था देखिएको उनले बताए।

रु एक करोड १६ लाख १० हजार ५६९ लागतमा तरकारी बजारका लागि ११ र मासु बजारका लागि पाँचवटा सटर निर्माण गरिएको उहाँले बताए। 

करीब पाँच रोपनी सार्वजनिक क्षेत्रफलमा पशु र तरकारी पसललाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गरिएको हो। 

किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण सहज गराउने उद्देश्यले भवन निर्माण गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए। 

सोही स्थानमा बन्दिपुर गाउँपालिकाले समेत रु ३२ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि सटरहरु बनाएको छ। 

सङ्घीय सरकारको रु तीन करोडको लागतमा सो स्थानमा चिस्यान केन्द्र निर्माण गर्नका लागि पहिलो वर्ष रु एक करोड विनियोजन भइसकेको अध्यक्ष थापाले बताए। 

हाल निर्माण गरिएको बजार केन्द्र एकान्त स्थान भएकाले व्यापार नहुने डरले पनि व्यवसायीहरु त्यहाँ जानका लागि चासो नदेखाएको हुन सक्ने गाउँपालिका कार्यालयले जनाएको छ।

 पृथ्वीराजमार्ग विस्तार गर्ने अभियानपछि मात्रै उक्त स्थानमा व्यापारीहरु जान सक्ने अवस्था देखिएको बताइएको छ। 

कारागारबाट २५ कैदीबन्दी स्थानान्तरण

जिल्ला कारागारबाट २५  कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ। 

आइतबार दिउँसो कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि बसेको सुरक्षा निकायको बैठकले २५ जनालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेलसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले झडप र विवादमा संलग्न कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने निर्णयबमोजिम राति नै उनीहरुलाई स्थानान्तरण गरिसकिएको निमित्त जेलर नारायण अधिकारीले जानकारी दिए।

‘दुई समूहबीच भएको विवादका कारण सामान्य झैझगडा भएको हो, सो घटनामा ६ जना घाइते भएकामा उपचारपश्चात् उनीहरु डिस्चार्ज भइसकेका छन्’ अधिकारीले भने। 

कारागारमा केही समय अगाडि स्थानान्तरण भई आएका कैदीबन्दीका कारण झगडा भएको कारागार स्रोतले जनाएको छ। नाइके फेर्नुपर्ने मागमा विवाद हुँदा दुई समूहबीच झडप भएको हो। रासस

प्रकाशित मिति: : 2021-03-02 13:43:00

प्रतिकृया दिनुहोस्