नेपाली गद्य कवितामा पछिल्लो समय दह्रो उपस्थिति देखाएका कवि हुन्- मनोज विश्वकर्मा।
२६ माघ, ०४९ मा मधेसको भुगोल (रौतहट) मा जन्मिएका मनोजलाई कक्षा ८ मा पढ्दै गर्दा काँचो लेखनको बानी लाग्यो। उमेर बढ्दै गएपछि विस्तारै उनले थुप्रै कथा, कविता र उपन्यास पढ्ने अवसर पाए। त्यही पठनले उनलाई कवितातर्फ यसरी आकर्षण बढायो, उनले लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, ईश्वरबल्लभलगायतका कविता खोजीखोजी पढ्न थाले।
गत वर्ष उनले सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय कविता महोत्सवमा भाग लिए। उक्त कार्यक्रममा पाँच सयभन्दा बढि कवितालाई पछि पार्दै उनको 'हजारौ हातको हस्ताक्षर' कविता अब्बल ठहरियो। उनी विजेता बने। ५५ हजार ५ सय ५५ राशीको पुरस्कार जितेपछि उनको लेखनीमा झन् बढी उर्जा थपियो। भन्छन्, 'त्यतिबेला मैले जीवनकै सबैभन्दा ठूलो पुरस्कार जितेको थिए।’
पुरस्कार जितेपछि मात्र उनलाई थाहा भयो, जितले मानिसलाई कति बन्धनमा राख्दो रहेछ? जिम्मेवारी थुपार्दो रहेछ।
प्रतियोगिता जितेपछि नेपाली गद्य कवितामा मनोजको चर्चा चुलिन थाल्यो। चुपचाप कविता लेख्न रुचाउने मनोज अग्रज तथा पछिल्लो पुस्ताका कविहरुको नजरमा परेका छन्। भन्छन्, 'त्यो प्रतियोगिताले ममा कविताको प्यास बढायो।’
उनले विभिन्न पुस्तक पसल, अनलाईन, म्यागाजिनमा आएका अधिकांश कविता खोजेर पढ्न थाले। गत वर्ष उनले अर्को एउटा अन्तर्राष्ट्रिय कविता महोत्सवमा आफ्नो कविता पनि पठाए।
हेम–सरिता पाठक फाउन्डेशनले आयोजना गरेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा विभिन्न देशबाट पाँच सय कविता समावेश गरिएको थियो। ती सबै कवितालाई पछि पार्दै यसपालि पनि उनको 'जुनको उज्यालोमा अडिएको समय' कविता उत्कृष्ट ठहरियो। यसबापत उनले १ हजार अमेरिकी डलर प्राप्त गरे।
दोश्रो पटक अन्तर्राष्ट्रि कविता प्रतियोगिता जित्दा उनलाई लेखनमा झन् बढी जिम्मेवारी बढेको महसुस भयो।
अहिले उनले राजधानीमा बसेर कविता लेख्नेहरुको ध्यान खिचेका छन्। मधेसको कुनै भुगोलमा बसेर उनले समय चेतको कविता लेखे। उनी भन्छन्, 'सकेसम्म म सीमान्तकृत कथाहरुलाई कविताको बिम्बमा खेलाउने प्रयास गर्छु।'
मनोजलाई अग्रज पुस्ताका कविहरुमा स्वप्नील स्मृती, भुपिन खड्का र सरीता तिवारी असाध्यै मनपर्छ। उनले कुमार नगरकोटीको 'मोक्षान्त काठमान्डौ फिभर' र ईन्द्रबहादुर राईको 'आज रमिता छ' पुस्तक दोहोर्याई तेहेर्याई पढिसकेका छन्।
हेम–सरिता पाठक फाउन्डेशनले आयोजना गरेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितमा उत्कृष्ट मनोजको कविता यस्तो छ:
जूनको उज्यालोमा अडिएको समय
----------------------------------
जमिन खनेर घाम निकाल्नेहरूकै
आँखाबाट नुनिलो उखु-रस चुहिने समय हो यो
यो समय
एउटा घाम हरबिहान टेबुलमुनीबाट उदाउछ
र हररात बेहोससँग डुब्छ वाईनको बोतलभित्र
अस्पतालको शैय्याहरूमा छिर्छ-पुच्छरसहितको घाम
र त्रसिद रहन्छन् मस्तिष्कहरू-सम्भावित दुर्घटनाको भयमा
घामको पाईला, जब पर्छ सडकमा
कैयौँ बाटाहरू क्षतबिक्षत हुन्छन जीवनको लयबाट
घाम जब आफैँ 'ग्रान्ड डिजाईन' गर्छ-हवाई'जहाजमा उडाउने
हजारौँ आकाशको हृदयभरि उड्छ कालो बादल
जब घामले ठान्छ-दुरसंचारबाट जोडिने तपाईको मुटुमा
र फुलाउने ओठभरि मुस्कान
अबरुद्ध हुन्छ अर्थतन्त्रको गला !
हिड्दै गरेको बाटोमा पनि मुस्कुराउदै आऊन् सक्छ घाम
र अपदस्त गर्न सक्छ तपाईको ओठबाट मुस्कान,
तपाईका पाईला पाईलामा जासुसी गर्दै
घुस्न सक्छ बिजुलीको मिटरमा,
चोटा
कोठा
स्टोर रूममा,
तपाईको पुजाकोठाको भगवान घामकै एजेन्ट हो
टेलिभिजन च्यानलको रिमोटमा उसकै उपनिवेश चल्छ
याद छ तपाईकै अनुहार पनि
हरबिहान पग्लिएर खस्छ धाराको नलबाट
पाठशाला हिडेका कलिला घामहरू
पाईलापाईलामा ठोक्किन्छन्-घामहरूको यस्तो रक्तहिन अनुहारसँग
र पढ्छन्-आयातित 'दिव्योपदेश'मा पृथ्वीनारायण शाह !
ओ ! गणतन्त्र,
हरबिहान टेबुलमुनीबाट उदाउछ तिम्रो घाम
र हररात बेहोस बेहोससँग अस्ताउछ वाईनको बोतलभित्र !
जूनहरू धमिलो उज्यालो च्याप्दै
छातीबाट निस्किएको लम्बेतान बाटो हेर्छन
सपना भत्किन्छ र अौशी आउँछ
छातिबाट खस्छ उज्यालो र जीवन मुस्कुराउछ
थाहा छैन जूनको छातिबाट खसेको उज्यालोले
कतिन्जेल देखिन्छ युगको अनुहार !