स्वयम्भूका आँखाले पनि पक्षपात गरे !

कर्णाली रारा र से फोक्सुन्डो झैं शान्त छ। शान्त रहनु कर्णालीको विशेषता हो  तर सत्ताबाट कर्णाली अशान्त बनाउने कयौँ प्रयास भए। विशेषतः खस साम्राज्यभन्दा अगाडिका अभिलेख भेटिँदैनन्। त्यसपछि भने भाइभारदारको लडाइँले दरबार अशान्त भयो तर जनता शान्त नै थिए। जनताले शान्त भएरै अन्तिम दमसम्म साथ दिए पनि। 

अन्तिम राजा शोभान शाही भागे। उनको नेतृत्वमा तीन पटक हराएपछि रिस पोख्दै १४ वर्षमाथिकालाई बध गर्ने नीति अख्तियार गरेर कर्णालीलाई अशान्त बनाउने काम गोर्खाली सत्ताबाट भयो। तथापि सहेर बस्नु अर्को विशेषता भयो। 

शान्त मन लिएर कर्णालीको मुगुबाट हिँडेको एउटा बालकको रगतमा चित्रकलाको रुचि मिसिएको थियो। परिणाम स्नातक र स्नातकोत्तर पढ्ने अवसर विदेशसम्मले दियो। पाकिस्तानको 'बेकन हाउस नेसनल युनिभर्सिटी'को अत्यन्तै कलामय वातावरणमा ज्ञान निर्माण भयो। बिरलैले पाउने साउथ एसिया फाउन्डेसनको स्कलरशिपले त्यो अवसर जुराएको थियो। जहाँ भारतलगायत दक्षिण एशियाका प्रत्येक देशका विद्यार्थीहरु अध्ययन गर्दछन्।

सिमाका लागि प्राय: अशान्त बनिरहने पाकिस्तानका विश्वविद्यालय भने सधैँ शान्त र गतिशील रहे। जहाँ अत्यन्तै 'कन्सेप्चुअल' कला गर्नेदेखि लिएर अति यर्थार्थवादी शैलीमा काम गर्ने कलाकारहरुसम्मको जन्म हुन्छ। विश्वविद्यालयमा राजनीतिक सिद्धान्तबारे अध्ययन गर्ने, विभिन्न सिद्धान्तहरुको समीक्षा गर्ने, बहस र पैरवी गर्ने काम भए पनि फलानाले यो सिद्धान्त अंगाल्नैपर्छ भन्ने थिएन। 

करकाप र बाध्यताहरु थिएनन्। प्रोफेसरहरु राजनीति गर्दैनथे। राजनीतिका प्रोफेसरले चित्रकला पढाएनन्। चित्रकलाका प्रोफेसरले राजनीति गरेनन्। आफ्नो कर्तव्य निभाए। देश अनुसारको भेषझैं विश्वविद्यालयको वातावरणले विशुद्ध ज्ञान निर्माणमा सहयोग पुर्‍यायो।

बाबुआमाले छोरो डाक्टर, इन्जिनीयर हलानो, फलानो बनोस भन्ने धारणा बिर्सिएर रगतमै चित्रकलाको रुचि जगाएर बगेका उनी पाकिस्तानसम्म पुगे, कर्णाली समुद्रलाई चुम्बन गर्न बगेझैं। उनी अर्थात् मुगुको चैन गाउँका  कोशल हमाल। चित्रकलाका एक कुसल विद्यार्थी। फाइन आर्ट पढ्ने विद्यार्थीका लागि एक लगनशील शिक्षक।

मुगुको उबडखाबड भुगोल, चिसो हिमाली सिरेटो, अविकसित चेतनास्तर, नपुगेको विकासे पहुँचले उनलाई सहरको झिलिमिली मन पराउने बनाएको थिएन। मैला कपडाभित्रको सफा मन लिएर, अँध्यारो गाउँलाई उज्यालो दिलमा सजाएर विदेश अध्ययन गर्न गएका थिए। अध्ययन, अनुसन्धान विश्वस्तरीय सम्बन्ध हुँदा पनि विदेशी भूमि र सेवा, सुविधाप्रतिको मोह जागेन। जागोस पनि किन? मातृभूमिप्रतिको अघात माया बढिरहेको थियो। त्यसैले स्नातकोत्तर तहको अध्ययन पुरा भएपछि काठमाडौं फर्के। कुरा २०७१ सालको थियो, ललितकलाका तत्कालीन क्याम्पस प्रमुखले आफूले सिकेको ज्ञान विद्यार्थीलाई बाँड भने। पार्ट टाइम नियुक्ति दिए।

देशको एउटा मात्र फाइन कला पढाइ हुने सरकारी कलेजबाट आएको प्रस्तावलाई सकारात्मक रुपमा लिए। उसो त निजी कलेजहरुबाट त्योभन्दा राम्रो प्रस्ताव पनि नआएको होइन। ललितकलाको प्रस्ताव सकारात्मक यस मानेमा कि एक त सरकारी कलेज, दोस्रो निम्न आयस्रोत भएको परिवारबाट पठनपाठनको लागि आउने विद्यार्थी, तेस्रो देशको भिन्न भूगोल र फरक सांस्कृतिक बोकेका विद्यार्थीसँगको सामिप्यता बढ्ने। यी सबैलाई मिलायो भने देशको आवश्यकता अनुसारको पाठ्यक्रम निर्माणमा समेत सहयोग हुने। त्यसलाई विश्वव्यापी बनाउन सकिने।

देश र समाजको फाइदा देखेपछि उनले व्यक्तिगत फाइदालाई तिलाञ्जलि दिए। 'हाम्रो कलेजमा पढाइ हुने पाठ्यक्रम पुरानो भयो। अद्यावधिक कोर्स नहुँदा विश्वविद्यालयबाट उत्पादन भएको जनशक्ति देशको लागि भन्दा विदेशको लागि भयो,' आफू पढाउन लाग्नुको कारण खुलाउँदै उनले भने, 'विश्वव्यापी रुपमा स्वीकार्य र श्रम बजारमा बिक्ने जनशक्ति उत्पादन आवश्यकता थियो। मैले केही गर्न सक्छु कि भनेर अध्यापन कार्य अँगालेको हुँ। आशा थियो, कर्णालीको हुड्केलाई पनि कलाको कोर्शमा राख्न सकिन्छ भनेर।'

ललितकलामा छिर्दा एउटा उत्साह थियो। अत्यन्तै गतिशील विश्वविद्यालयमा पढेर होला, प्रख्यात कलाकार रशिद रानादेखि कुद्दुस मिर्जा, बेलाबेला विश्वका नामी विश्वविद्यालयका भिजिटिङ प्रोफेसरले क्लास लिएको  देखेर पनि होला। उत्साह ह्वात्तै बढेर बेलुन भरिएजस्तो भएको थियो।

भयो पनि त्यस्तै। पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमाल, पहाड तराईका विद्यार्थीसँग भेट भयो। उनले ती विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा सिकेको ज्ञान र सीप सिकाउन प्रयत्न गरे। कर्णालीका सबै मान्छेलाई जुम्ली भन्दिने र जबर्जस्ती फोहोर देखाइने ठाउँको एक शिक्षकले घृणाको नकारात्मक विम्व बदल्दै थियो। 
२०७६ सालसम्म आइपुग्दा  विद्यार्थीहरु सबै कोशल हमाल सरको नाम तुलनात्मक रुपमा बढी लिन थाले। उनी थिए पनि त्यस्तै, 'हाम्रो आवश्यकता, विश्वव्यापी रुपमा चलिरहेको चित्रकलाको ट्रेन्ड, भविष्य' सबैमा एउटा अपडेटेट दृष्टिकोण दिन्थे। यो मनगढन्ते कुरा होइन, यथार्थ हो। 

हामीले उनले पढाएका हिमाल, पहाड, तराई सबै क्षेत्रका विद्यार्थीसँग सम्पर्क गर्ने कोशिश गरेका थियौँ। यसै क्रममा भेटिएकी थिइन, लुम्बिनी बौद्द विश्वविद्यालयमा स्नातकोत्तर पढिरहेकी सविना तामाङ। 'म स्नातक तहमा कोशल सरको विद्यार्थी हुँ। उहाँले सिकाएको कुरा अझै दिमागमा ताजा छन्। अध्ययन गरिरहँदा त्यसरी सिकाउन सक्ने खुबी भएको अर्को सर भेटाइन भन्दा पनि हुन्छ। सर ललितकालको गहना हुनुहुन्छ। गहना हुँदा मान्छे सुन्दर हुन्छ। कोशल सर हुँदा ललितकता सुन्दर देखिन्छ,' उनले भनिन्, 'मेरो कलेज सकिसकेको छ। अध्ययनको क्रममा केही समस्या आइपर्‍यो भने म सरलाई सुनाउँछु, सजिलै समाधान हुन्छ।'

त्यस्तै उदयपुरका झंकार सापकोटासँग पनि हाम्रो कुराकानी भयो। त्यसै क्रममा उनले भने, 'ललितकलाको कोर्स एकदम पुरानो हुँदाहुँदै पनि सरले हामीले नयाँ अद्यावधिक कोर्ससँग गराउनुभयो। उहाँ बाहिर पढेर आउनुभएको हुनाले पनि हामी कन्टेम्प्रोरी आर्टसँग परिचित भयौँ। बाहिर पढ्न जान चाहने साथीहरुको लागि त उहाँ सेतु नै हो।'

कोशलले फाइन आर्ट पढाइरहँदा काठमान्डौकी स्मृति श्रेष्ठ फरक खालको अनुभूति गर्छिन्। 'स्टुडेन्ट लाइफमा यति मज्जाको सर हामीले भेटेनौँ। लकडाउनले सर्वत्र बन्दा हुँदा पनि हामी सरको क्लास लिइरहेका थियौं,' उनले भनिन्, 'उहाँले फेसबुकमा एउटा समूह बनाएर हामीलाई सिकाइरहनुभएको थियो। उहाँ राम्रो शिक्षक हो। लाइफमा उहाँलाई धेरै पटक मिस गरिररहनेछु। ललितकला गभर्मेन्ट कलेज भएर त्यस्तो अपेक्षा थिएन तर सरले हामीलाई नबिर्सने ज्ञान दिनुभयो।'

पूर्वी तराईकी रामवति चौधरीसँग कुरा हुँदा बारम्बार भनिन्, 'कोशल सर एक जिम्मेवार शिक्षक हो भनेर। गरिब, दलित, अपांग विद्यार्थीहरुलाई सरले धेरै सघाउनुहुन्थ्यो,' उनले भनिन्, 'म मात्र होइन देशभरिका जसलाई सोध्दा पनि हुन्छ, एक जनाले पनि सरलाई नराम्रो भन्दैनन्। एउटा क्लास पनि छुटाउनुहुन्न।'

स्याङ्जा घर भई हाल बेलायतको बर्मिङ्घम सिटी युनिभर्सिटीबाट मास्टर्स गरिरहेका अच्युत पौडेल आफूले बेलायत पढ्ने अवसर पाउनुमा कोशल सरको प्रेरणा भएको बताउँछन्। उनले भने, 'उहाँ ललितकलाको इतिहासमै एउटा सक्षम शिक्षक हुनुहुन्छ। आज म यहाँ जे कुरा पढिरहुको छु। त्यो नेपालमा पनि कोशल सरले पढाउनुभएको थियो।'

कोशलका अध्यापन गर्नै शैलीले नै कर्णालीको बारेमा सकारात्मक धारणा निर्माण हुँदै गर्दा काठमाडौंलाई पचेन। स्वयम्भूका आँखाले पनि पक्षपात गरे। उनीमाथि राजनीति हुन थाल्यो। यो देखेर उनको उत्साह बेलुनको हावा फुस्किएझैँ घट्न थाल्यो।

'क्याम्पस छिर्ने बेला राजनीतिले असर पार्दैन होला भन्ने लागेको थियो तर पछि राजनीतिले मात्र होइन। एउटा गुटले समेत असर गर्न थाल्यो,' उनले भने, 'तैपनि हामी विद्यार्थीलाई सिकाउने मामिलामा कमजोर थिएनौँ। संसारभरि चलेको फाइन आर्टको चलनसँग हाम्रा विद्यार्थीलाई परिचित गराउन विभिन्न विश्वविद्यालयका प्रोफेसर ल्याएर कक्षा लिन लगायौँ। बाहिर पढेका विद्यार्थीको अनुभवसमेत आदानप्रदान गरायौँ।' 

आशिक शिक्षकको तवरबाट पाठ्यक्रम सुधार वा चेन्ज सम्भव नदेखेपछि उनलाई विश्वविद्यालयको स्थायी प्राध्यापक हुनुपर्ने आवश्यकताको बोध भयो तर त्रिविको गति गतिलो थिएन। आश मान्नलाई समेत निराश बनाउने घटना दोहोरिरहे। 

प्रकाशित मिति: : 2021-02-28 14:26:00

प्रतिकृया दिनुहोस्