मनोज दाहाल
लामो समयसम्म कसैको संगत गर्यो वा कुनै अवस्थाको चिन्तन गर्यो भने त्यसको असर हाम्रो व्यवहारमा पर्छ। हतार मेरो स्वभाव थियो। म सधैँ हतारमै हुन्थेँ। पत्रकारिताको यात्राले त्यो हतारको स्वभावमा अझै मल थप्यो।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भन्ने गर्नुहुन्थ्यो- दौडेर र सुतेर एउटै ठाउँमा पुग्छौँ हामी। आफू दिउँसो सुत्ने सन्दर्भमा उहाँको यस्तो प्रस्टोक्ति आउँथ्यो।
हिजोआज म महसुस गर्छु – यदि टाढा पुग्नु छ भने बिस्तारै हिँड। धेरै टाढा पुग्नु छ भने हिँड्दै नहिँड।
आजकाल हतार गर्दिनँ म। हतार नगर्न सिकिरहेको छु।
लेखक तथा पत्रकार विजयकुमारलाई म लेखक तथा पत्रकारभन्दा बढी एउटा सामान्य मानिसका रुपमा चिन्छु। पद वा सामाजिक प्रतिष्ठासँग मेरो कहिल्यै कुनै आकर्षण रहेन। ती हाम्रो व्यवहारिक जीवनका स्थानहरु हुन्। हाम्रो कर्म वा दिनचर्यासँग जोडिएर आउने पद हाम्रो वास्तविक परिचय होइन।
त्यही भएर केपी ओली, डोनल्ड ट्रम्प वा नरेन्द्र मोदीभन्दा मलाई सन्दुक रुइत, महावीर पुन वा गोविन्द केसी बढी मन पर्छन्। हामीलाई ढाकेका दसौँ आवरणका पर्तहरु उघारेपछि बल्ल हामी वास्तविक आफू भेट्टाउने यात्रामा हुन्छौँ। विजयकुमारलाई म एउटा अग्रज पत्रकारभन्दा बढी आफू भेट्टाउने यात्राका सहयात्रीका रुपमा चिन्छु।