…जब घन बोकेका नागरिक कमलपोखरी पसे

अनलाइनखबर

काठमाडाै‌ं

१४ फागुन, काठमाडौं । शुक्रबार बिहान सडक विस्तारबाट पीडित उपत्यकावासी ‘हाम्रो भूमि फिर्ता गर’ भन्दै माइतीघर मण्डलामा आइपुगे । उनीहरू बृहत नागरिक आन्दोलनद्वारा आयोजित ‘विकासको नाममा जारी प्रतिगमनविरूद्ध संघर्ष’ कार्यक्रममा सहभागी हुन आएका थिए ।

धिमे बाजा, झ्याम्टा बोकेर आएका उपत्यकावासीले विकासको नाममा स्थानीयलाई उठिबास गरेपछि त्यसको विरोधमा आएका हुन । उनीहरूले बालाजु, बाइपासमा भएको सडक विस्तारमा सरकारले निर्मम दमन गरेको भन्दै त्यस विरुद्ध चर्को नारा लगाए । बालाजु, बाइपासमा विभेदपूर्ण सडक विस्तार हुँदा ३८ परिवार घरविहीन भएका छन् । पहुँचवालाको घर जोगाउन एकतर्फी रुपमा घर भत्काएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । 

विरोध प्रदर्शन केहीबेरमा सभामा परिणत भयो । उज्जवल प्रसाईं, नरेश ताम्रकार, विद्या श्रेष्ठले स्थानीयलाई विस्थापित गर्ने विकासको चर्को विरोध गरे । नेपाल भाषाका कवि राजभाइ जकःमीले नेवाः भूमि अतिक्रमणविरूद्ध कविता सुनाए ।

बुधबार बालाजुबाट पक्राउ परेका अधिकारकर्मीलाई अबिलम्ब रिहाइ गर्नुपर्ने माग राखे । कानुन विपरीत भएको सडक विस्तारको विरोध गर्दा प्रहरीले उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी, विरोचन श्रेष्ठ, महेश मानन्धर, मीन शाही लगायत आठ जनालाई पक्राउ गरेको छ । सुमन सायमी र विरोचन श्रेष्ठलाई अहिले सोह्रखुट्टे हिरासतमा राखिएको छ ।

प्रहरीले मातृभाषामा बोल्न पाउने संविधानप्रदत्त हक खोसेको प्रति उनीहरूले कडा आपत्ति जनाए ।

प्रकाशित मिति: : 2021-02-26 19:29:00

प्रतिकृया दिनुहोस्