प्रवीण बास्तोला हत्या प्रकरण : अपराध अनुसन्धानमा प्रहरीले हचुवा प्रवृत्ति अपनाउने गरेको पुष्टि

अमेरिकाबाट आएकी बहिनी सदीक्षा र सचेत आफन्तले निरन्तर संघर्ष गरेपछि मात्र प्रहरीले भवितव्य भन्न खोजेको मृत्यु कर्तव्य ज्यान कसुरको अभियोगमा फेरियो

मृत्यु अपराधको घटनालाई गम्भीर नठानी भवितव्य ठानेर हचुवा ढंगले अनुसन्धान गर्दा मोरङ प्रहरी विवादमा परेको छ । छिमेकीको मराउमा जान्छु भनेर हिँडेका उर्लाबारीका प्रवीण बास्तोलाको रहस्यमय मृत्यु भएको घटनामा अनुसन्धान हचुवा तरिकाले गर्दा जिल्ला प्रहरी मोरङमातहत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको अनुसन्धान विवादमा परेको हो । यसले प्रहरीले अपराध अनुसन्धानमा कतिसम्म खेलबाड गर्छ भन्ने पुष्टि पनि भएको छ । प्रहरीले भवितव्य भनेको मृत्यु कर्तव्य ज्यानमा अभियोगमा फेरिएपछि प्रहरीको विश्वसनीयतामा प्रश्न खडा भएको हो ।    

मोरङको उर्लाबारी नगरपालिकामा डेढ महिनाअघि बास्तोलाको रहस्यमय मृत्यु भयो । उनको हत्या अभियोगमा ६ जना आरोपीविरुद्ध कर्तव्य ज्यान कसुर आरोपमा मुद्दा दर्ता भयो । जिल्ला अदालत मोरङले १३ फागुनमा एकजना आरोपीलाई पुर्पक्षका लागि जेल पठाएको छ भने एकजनालाई धरौटीमा छाडेको छ । पहिले अनुसन्धानका लागि पक्राउ गरेर छाडिएका चारजना आरोपी अझै फरार छन् ।

बास्तोला हत्या अनुसन्धान विवादमा परेपछि मोरङ प्रहरीले छानबिन समिति गठन गरेको थियो । १० फागुनमा डिएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति गठन गरी गलत अनुसन्धान भएको पाइए विभागीय कारबाही गर्ने प्रतिबद्धता प्रहरीले जनाएको थियो । तर हालसम्म प्रहरीले छानबिन समितिको प्रगति सार्वजनिक गरेको छैन । न त कसैलाई विभागीय कारबाही नै गरेको छ । १२ फागुनमा एसपी सन्तोष खड्काले पत्रकार सम्मेलन गर्दै प्रवीण बास्तोला घटनाको अनुसन्धानमा त्रुटि नभएको बरु सामाजिक सञ्जालमा धेरै होहल्ला हुँदा प्रहरीको बदनाम भएको दाबी गरे । मृतक बास्तोलाका आफन्तले प्रहरीले अनुसन्धान फितलो बनाउन किर्ते काम गरेको आरोप लगाउँदै प्रहरीविरुद्ध संघर्ष थालेका थिए ।

अनुसन्धानको मिसिलमा मृतकको गलत फोटो समावेश गरेको, पक्राउ गरेका आरोपीलाई छाडिदिएको, परिवारलाई गलत सूचना दिँदै धाकधम्की दिएको आरोप लगाउँदै उनीहरूले दुरुस्त अनुसन्धान गर्न प्रहरी र सरकारी वकिललाई दबाब दिँदै आएका थिए । 

प्रकाशित मिति: : 2021-02-26 18:57:00

प्रतिकृया दिनुहोस्