भूलवश मृतकको तस्बिर अर्को पर्दैमा प्रहरीले घटना कमजोर बनाएको भन्न मिल्दैन : एसपी खड्का

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उर्लाबारीका युवा प्रवीण बास्तोला मृत्यु प्रकरणमा अनुसन्धान त्रुटीरहित ढंगले भइरहेको बताएका छन्।

एसपी खड्काले आज बिराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी घटनाको अनुसन्धान र प्रहरीले हालसम्म प्राप्त गरेका उपलब्धिबारे जानकारी गराएका हुन्।

एसपी खड्काले मिसिलमा भूलवश मृतकको ठाउँमा अरुको तस्बिर परेकै आधारमा फितलो अनुसन्धान भएको वा प्रहरीले घटनालाई कमजोर बनाएको भन्न नमिल्ने बताए।

मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोला गएको पुस ५ गते मृत फेला परेका थिए। सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन (मिसिल) बुझाउँदा मृतकको तीनवटा फोटो राखेकोमा एउटा फोटो भने अर्कै व्यक्तिको परेको थियो।

तस्बिर फरक परे पनि मृतकको परिचय फेरिएको छैन। हामीले कर्तव्य ज्यानसम्बन्धी अपराधमै मुद्दा चलाउछौँ।

मुद्दा किनारा लागेको होइन, थप दुई आशंकितलाई पक्राउ गर्दैछौँ‘ एसपी खड्काले भने, ‘प्रहरीबाट कमजोरी भए नभएको अनुसन्धान गर्न डीएसपी नेतृत्वको छानबीन समितिले काम थालिसकेको छ।'

उर्लाबारीको अस्पतालमा मृत अवस्थामा फेला परेका प्रवीणको मृत्यु सम्बन्धमा प्रहरीले मिहीन ढंगले अनुसन्धान भइरहेको दाबी गरेको छ। उर्लाबारी प्रहरी कार्यालयका प्रहरी निरीक्षक सहितलाई अनुसन्धानमा तानिएको बताइएको छ।

मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए।

पक्राउ परेका उनी माघ २ गते सरकारी वकिल कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा छुटेका छन्। आफन्तले भने तस्बिर फरक परेकोले सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाएको बताउँदै आएका छन्।

प्रविन मृत्यु प्रकरणमा मिसिलमा फरक तस्बिर परेको र अनुसन्धानमा कमजोरी भएको भन्दै आफन्त तथा स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन्। यसैगरी, न्याय माग्दै आफन्त र स्थानीयले विराटनगरस्थित सरकारी वकिलको कार्यालय र मोरङ जिल्ला प्रशासन कार्यालयमा समेत प्रदर्शन गरे।

यसैविच, मृत्यु प्रकरण घटनामा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। शङ्कास्पद मृत्युको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईसहित छ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उर्लाबारी नगरपालिका–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध मुद्दा दायर भएको हो।

मुद्दा दायर गरेकामध्ये दुई जना पक्राउ परेका छन्। प्रहरी उपरीक्षक खड्काका अनुसार कुमार राई र मेहरमान दर्जी पक्राउ परेका हुन्।

यसअघि पक्राउपछि हाजिरी जमानीमा छुटेका चार जना भने फरार भएका छन्। फरार भएकाहरूको खोजी कार्य भइरहेको उनले बताए।

जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले उर्लाबारी घटनाका आरोपीमाथि बयान जारी रहेको बताए। उनका अनुसार न्यायाधीश सुदर्शन लाछिमानेको इजलासमा मुद्दाको सुनुवाई भइरहेको छ।

प्रकाशित मिति: : 2021-02-24 17:21:00

प्रतिकृया दिनुहोस्