सुर्खेतको बराहताल गाउँपालिका-९ की ६६ वर्षीय तुलसरा खासुका ३ छोराछोरी छन्। जन्मिएकामध्ये एक सन्तान बाँचेनन्।
तीन वर्षअघि मात्र तुलसराले पाठेघरको अपरेशन गराएकी छिन्। छोरा-बुहारीले फकाइफुलाई गरी अस्पताल भर्ना गरीदिएपछि उनको खसेको पाठेघरको अपरेशन भएको हो। उनको पाठेघर खसेको भने दुई दशक अघिदेखि हो।
२०४२ सालमा तुलसराका कान्छा छोरा जन्मिए। कान्छा छोरा जन्मिएको केही वर्षपछि उनको पाठेघर खसेको हो।
गाउँघरतिर यसलाई ‘आङ खस्नु’ भनिन्छ। उनले आफ्नो पाठेघर खसेर समस्या भएकोबारे श्रीमानलाई चार वर्षपछि मात्र भनिन्।
‘कान्छो छोरो जन्मिएको केही समयपछि यस्तो भएको हो, यस्तो भएको चार वर्षजति भएको थियो होला श्रीमानसँग आङ खसेको छ भनेर भनें,’ तुलसराले भनिन्, ‘श्रीमानलाई पनि उपचार कसरी गर्ने भन्ने केही दाउ आएन होला, अब यसै मर्ने त होला भनेर भन्नुभयो।’
दूरदराजमा पाठेघर खस्ने समस्यालाई श्रापका रूपमा समेत लिने चलन छ। यो समस्या भएका महिलाहरूले असह्य नहुन्जेल पीडा सहन्छन्, तर अरूलाई भन्न चाहँदैनन्। घरका परिवारलाई समेत यो कुरा भन्न लाज मान्छन्।