पप, र्याप र रकगीतमा युवायुवतीहरूको मोह बढ्दै गएपछि पूर्वीय शास्त्रहरूमा आधारित धार्मिक महत्वका शुभकार्यमा नाचिने बालन नाच गुमनाम हुँदै गएको छ। जसको कारण परम्परागत नाच तथा बाजागाजाहरू किनारा लाग्दै गएका छन्।
खासगरी खस र आर्य सम्प्रदायमा नाचिने बालनलाई सूचना प्रविधिसँगै भित्रिएको पश्चिमा संस्कृतिले विस्थापित गराएको हो। पुराण, स्वस्थानी पूजा, ग्रहशान्ति, रूद्री–चण्डी पाठ जस्ता शुभकार्यमा बालन नाचिने गरिन्थ्यो।
झण्डै एक दशक अघिसम्म गाउँघरमा बालन नाचेको स्मरण गर्ने झापा गौरादह १ का कुलप्रसाद बाँस्कोटा हिजोआज बालन नाचको संस्कृति हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्छन्।
शुभकार्यमा दिनभर पूजापाठ गर्ने र राति बालन नाच्ने परम्परा थियो। तर, पछिल्लो पुस्ताको बेवास्ताका कारण यो नाच आझेलमा परेको बाँस्कोटाले बताए।
बालन नाच्ने मानिसको समेत अभाव खड्किएको उनको भनाई छ। संस्कृति संबद्र्धन गर्ने युवाहरू नै बिदेशिएका छन्’, उनले भने, ‘यहाँ भएकाहरू पनि खासै चासो राख्दैनन्।’
बाँस्कोटा बालन नाचका पारखी हुन्। उनी नाच्न पनि उत्तिकै सिपालु छन्। भन्छन्—‘सिक्छु भनेर कोही आउँदैनन् ,कतै नाँच भइ गयो भने हेर्ने दर्शकको समेत अभाव हुन थालेको छ।’
हिन्दूग्रन्थहरू गीता, रामायण, देवी भगवतबाट कथा झिकेर रामजीकी जय, सीताजीकी जय, कृष्णजीकी जयबाट शुरू गर्दै रातभर बालन नाच्ने गरिन्छ। चारदेखि सात जोडी समूह बनाएर झ्याली, झयाम्टा र मजुराहरू बजाउँदै ४ सय २७ चरणमा नाच सकिने गर्दछ।
नाचिने घरका आँगनबीचमा एक खाँबो गाडिएको हुन्छ। उक्त खाँबोलाई ‘मालिका’ भनिन्छ। मालिका वरिपरि घुम्दै रामायण, गीता, देवी भगवतका श्लोकका लयमा बाजागाजासँगै नाचिन्छ।
हाँ हाँ
हामी र आयौ, पञ्चै बालन खेल्न आगन बढारी राखन
हाँ हाँ
हामी र जान्छौ दिदीबहिनी भेट्न चामल कुटाई राखन
नाच शुरू गर्नु पूर्व नाच्ने मध्येबाट एक जनालाई नेता चुनिन्छ। नाचमा श्लाके पाठ गर्ने व्यक्तिलाई ‘खलिया’ भनिन्छ। खलियाले लयवद्ध गएपछि नाच्नेले पुनः श्लोक पाठ गर्दै घुम्ने र नाच्ने गर्छन्।
यो क्रम साझँबाट शुरू भएर बिहानसम्म पनि चल्ने गर्छ। पृथ्वी, जल र आकाशका सबै देवता पुकारेर बालन शुरू गरिन्छ र तिनीहरूलाई विदा गरेर मात्र समापन गरिन्छ। बालनमा दुई दुईजनाको जोडी आमनेसामने उभिन्छन्।
दुवैको हात जोडेर ‘हाँ...’ को लामो लय निकाल्छन्, खलियो पाठ गरेको श्लाके दुई पटक गाउँदै पुनः आमनेसामने भएर हात जोड्दै उक्त श्लोकको नाच सम्पन्न गर्छन्।
बीचमा ‘जतिकम्पा, जतिकम्पा हो हो हो’ भन्दै मालिका वरिपरि झ्याम्टा बजाउँदै उफ्रिएर नाच्छन्। त्यो बेला जो जति उफ्रिएर नाच्यो त्यसको त्यति नै बढी प्रशंसा हुने गर्छ।
तिहारको बेलामा के फुलै फुल्यो,
फुलै र फूल्यो सयपत्री आगंनै रमाइलो
बालन नाच्ने युवा र वृद्धलाई नाच सकेपछि गच्छेअनुसार टीका लगाएर दक्षिणा दिने गरिन्छ। त्यसभन्दा अगाडि घरका सबै सदस्यलाई एकै ठाउँमा राखेर बालनेले आशिष दिन्छन्। आशिषमा सबै देवीदेवता पुकारेर सुख, शान्ति, ऐश्वर्य प्राप्तिको कामना गरिन्छ।
कला र संस्कृतिको धनी देश भएपनि युवापीढिले आफ्नो मौलिक कला र संस्कृतिको सम्बद्र्धन र संरक्षणमा चासो देखाउन सकिरहेको छैन।
केही दशक अघिसम्म व्रतपूजा, जात्रामात्रा, मेलापर्वहरूमा अत्यन्त उत्साहका साथ गाउने नाच्ने गरिने मौलिक नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहादै आएको बालन हाल लोप हुन लागेको छ।
पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहहरूमा बालनका झलक देखाइने गरेपनि पुरानो पुस्ता नरहनु र नयाँ पुस्ताले सिक्न नखोजेको वा नसिकेकाले पनि बालन लोप हुने अवस्थामा पुगेको हो।