नाम्चेमा सोचे जति चिसो थिएन। पहिलो पटक यहाँ पुग्दा अलग्लै शुल्क लाग्थ्यो, नुहाउने तातोपानीका लागि। यसपाला अट्याच रुममा तातोपानी सहितको सुविधा। होटलको सोलारले सबै धानिरहेको रहेछ। लामो ट्रेक गरेर आएकाले यहाँ फर्केपछिमात्रै नुहाउँथे। हामी नाम्चेको न्यानो आतिथ्यता छाडेर हिँड्दैछौं। नाम्चेको बायाँ कोखबाट उकालिन थाल्यौं पश्चिमतिर। १५ मिनेट पनि लागेन हेलिप्याड पुग्न। हेलिप्याड नजिकैबाट नाम्चेको यु आकार देखियो। कैलाश हेलिकप्टर हाम्रो अर्को गन्तव्य कालापत्थरका लागि तयार थियो। बिहान कालापत्थर पुग्न सकिएन भने बादलले सगरमाथालाई छोप्ने सम्भावना थियो।
पाइलटले हामीलाई ब्रिफ गर्दै थिए - 'रोकिएको होस् या चलिरहेको हेलिकप्टरको पछाडितिर चै जाँदै नजानु।'
उनले यसो भनिरहँदा हुम्लाको हेलिकप्टर दुर्घटनाको याद आयो। मानसरोबर गएर फर्किएका एक भारतीय तीर्थयात्री हुम्लामा आएपछि हेलिकप्टरको पछाडिको पङ्खामा परेका थिए। सेल्फी खिच्न खोज्दा उनको ज्यान गुमेको थियो। हेलिकप्टरको पुच्छरमा रहेको पङ्खा हेलिकप्टर चल्दा होस् या नचल्दा नदेखिने हुनाले सधैं जोखिम हुनसक्थ्यो। त्यसमाथि हामी त्यहाँ उत्रिने तयारीमा थियौं जहाँ हेलिकप्टरको पङ्खा बन्द गर्न मिल्दैन थियो।
नाम्चेबाट पहिलो समूहमा ४ र दोस्रो समूहमा ४ जना तौल अनुसार विभाजित भइसकेको थियो हाम्रो टोली। हेलिकप्टर फेरिचेमा पुगेर उत्रिने र त्यहाँबाट तौल व्यवस्थापन गरेर कालापत्थरतिर लाग्ने तयारी थियो। लुक्लाबाट बोकेको इन्धनका जर्किन फेरिचेमा लगेर अनलोड नगरे कालापत्थरको उचाईमा जान नसकिने रहेछ। तौल बढी भए ३ जनामात्र यात्रु त्यहाँ जानुपर्ने रहेछ। त्यसैले फेरिचे हाम्रो ट्रान्जिट थियो।