काठमाडौंमा ६५ रुपैयाँमै पेटभरि खाना

काठमाडौंमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, ‘हाम्रो खानाघर’ अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना पाइन्छ । सस्तो मूल्यमा खाना खान बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्म हाम्रो खानाघरमा भिड लाग्छ । 

दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दं‍ग छन् । उनी भन्छन्, ‘मैले त सुरु भएदेखि नै यहाँ खाना खान थालेको छु । यहाँ सस्तोमा मीठो खाना खान पाइन्छ ।

पैसा पनि बचत भएको छ ।’ घर निर्माणको काम गर्ने उनको खानाका लागि दैनिक तीन सय रुपैयाँ खर्च हुन्थ्यो । तर, अहिले खानाका लागि उनले छुट्याएको रकममध्ये दैनिक एक सय ७० बचत हुन थालेको छ । ‘सस्तोमा मीठो खाना पाइने भएकाले अरूलाई पनि आउन भन्छु । १५ जनाजति साथीलाई त ल्याइसकेको छु । मिठो, राम्रो अनि सस्तोमा पेटभरि खान पाइने भएपछि किन नआउने ?’ उनले भने । 

राज पटेल पनि केही दिनदेखि हाम्रो खानाघरमै खाना खान आउन थालेका छन् । ज्याला–मजदुरी गर्ने उनी खानाको सट्टा रोटी खान्थे । सस्तोमा पेटभरि खान पाइने भएपछि उनी आजभोलि खाना नै खान थालेका छन् । ‘पहिला रोटी खाइरहेको थिएँ । साथीले सस्तोमै भात खान पाइन्छ भनेर सुनाएपछि यहाँ आउन थालेको हुँ,’ पटेलले भने, ‘भातै ठीक छ । यहीँ नजिकै काम गरिरहेको छु । त्यसैले आउन पनि सजिलो छ । अब दिनहुँ आउँछु ।’ 

सुमन मगरले पनि दैनिकजसो हाम्रो खानाघरमै खाना खान खाइरहेका छन् । उनी सुरुवाती दिनदेखि नै यहाँ खानाका लागि आउने गरेको बताउँछन् । ‘मिठो खाना, सस्तोमा पाइन्छ । त्यही भएर खुलेको दिनदेखि नै यहाँ आइरहेको छु,’ मगरले भने ।

दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्य
दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्य बोकेर हाम्रो टिम नेपालले हाम्रो खानाघर गत १७ माघदेखि सञ्चालनमा ल्याएको हो । हाम्रो खानाघर कम आम्दानी हुने, ज्याला–मजदुरी गर्नेहरूको मात्र होइनऽ सस्तो र राम्रो खाना खानेहरूको लागि उपयुक्त गन्तव्य बनेको छ । एकपटकमा ५२ जनाले खाना खान सक्ने हाम्रो खानाघरको भान्सादेखि खाने ठाउँसम्म चिटिक्क र सफा छ । जसकारण बिहान नाैदेखि दिउँसो तीन बजेसम्म र साँझ पाँचदेखि राति नाै बजेसम्म खाना खानेको भिड नै लाग्छ । बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्म नै भिडभाड हुने हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । ‘बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्मै भिड हुन्छ । बेलुकाभन्दा बिहानको खाना खान आउने धेरै हुनुहुन्छ,’ पन्तले भने, ‘अहिलेसम्म हामीले एकदमै राम्रो प्रतिक्रिया पाइरहेका छौँ । यति राम्रो खाना छ । घरमा खाएजस्तो छ भन्नुहुन्छ । हामीले खाँदै गर्दा तपाई‌हरु पनि बाँच्नुपर्छ । एक दिन आएर खाना खाएर मात्र हुँदैन । सधैँ हामीजस्तै मानिसहरू यहाँ आएर खाना खाने वातावरण हुनका लागि सबैभन्दा पहिला तपाई‌हरू बाँच्नुपर्छ भन्नुहुन्छ । हामी एकदमै खुसी छौँ ।’ 

प्रकाशित मिति: : 2021-02-19 18:38:00

प्रतिकृया दिनुहोस्