पत्रकार महिलाका लागि कानूनी सचेतना तालीम आजदेखि बुटवलमा शुरु भएको छ।
बुटवल उपमहानगरपालिकाको आयोजना र सञ्चारिका समूह जिल्ला शाखाको समन्वयमा भएको तालीमको आज उद्घाटन कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले कानुको अनविज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताए।
उनले उपमहानगरलाई समृद्ध बनाउन पूर्वाधार निर्माणसँगै भौतिक विकास आवश्यक हुने भएकाले पत्रकारलाई सचेत बनाउँदा समाजमा सही सूचना जाने उल्लेख गरे। स्थानीय सरकार र नागरिकबीच पुलको काम गर्ने भएकाले पत्रकार धेरै विषयमा जानकार हुनुपर्ने उनको भनाइ छ।
सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले कुनै पनि विषय कानूनभन्दा बहिर नहुने भएकाले यो विषयमा सचेतना आवश्यक रहेको बताए।
दुई दिनसम्म चल्ने तालीममा उच्च सरकारी वकिल कार्यालय बुटवलका सहन्यायाधिवक्ता मोहन सागर बस्याल, कानून सचीव राजेन्द्र थापा र कानून मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले नेपालका ऐन कानूनमा भएका व्यवस्था, स्थानीय सरकारका काम कर्तव्य अधिकार, मुलुकी देवानी संहितालगायतका विषयमा प्रशिक्षण दिनेछन्। रासस