भिजिट भिसामा मानव तस्करी

२६ नेपाली महिला १० महिनादेखि श्रीलंकाको जेलमा, बेलायत पठाउने भन्दै ६३ पूर्वसैनिकबाट पाँच करोड ठगी 

भिजिट भिसाबाट रोजगारीका लागि खाडी देश जान लागेका २६ नेपाली महिला १० महिनादेखि श्रीलंकाको जेलमा थुनिएका छन् । ३६ जना श्रीलंकामा पक्राउ परेकोमा १० जनाको भने उद्धार भएको छ । 

दलालको पछि लागेर उनीहरू भारत हुँदै श्रीलंकाबाट कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), ओमान जान खोजेका थिए । कोरोना महामारीका कारण कुवेतमा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनीहरू श्रीलंकामै अलपत्र परेका थिए । मानव तस्करी गिरोहमा आबद्ध श्रीलंकन नागरिकले नै उनीहरूलाई बन्धक बनाएर आफ्नो घरमा राखेका थिए । उनीहरूको १२ दिनको भिसा सकिएको थाहा पाएपछि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । अध्यागमनसम्बन्धी कसुर र झगडा गरेको अभियोगमा त्यहाँको प्रहरीले उनीहरूलाई थुनामा राखेको हो । 

त्यसरी थुनामा परेकामध्ये १० जनालाई हालै उद्धार गरिएको छ । जेलबाट छुटेकालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको हो । ‘अन्यको हकमा मुद्दा टुंगो नलागी नेपाल ल्याउन सम्भव भएन,’ महिला मन्त्रालयका उपसचिव गोमा ढकाल पौडेल भन्छिन्, ‘हामीले त्यहाँको नेपाली दूतावाससँग समन्वय गरिरहेका छौँ ।’ ३६ जनामध्ये ३० जना एकपटक तथा अन्य ६ जना पछि गएका थिए । नेपाल र भारतबाट भिजिट भिसामा खाडी देश जान कडाइ भएकाले मानव तस्कर समूहले उनीहरूलाई श्रीलंका हुँदै कुवेत लैजान खोजेको थियो । नेपाल फर्किएकामध्ये तीनजनाले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् । अन्यले जाहेरी दिन मानेका छैनन् । फर्किएकालाई माइती नेपाल र शक्ति समूहले सहयोग गरिराखेको छ । 

प्रकाशित मिति: : 2021-02-18 20:34:00

प्रतिकृया दिनुहोस्