मोहनाथ आचार्य
नोभेम्बर २०१९ मा मलेसियाली सरकारको निमन्त्रणामा ‘क्यानेडियन एक्सपर्ट प्यानल’ को रूपमा मलेसिया जाने अवसर मिल्यो। त्यति बेला ‘क्यानेडेली एक्सपर्ट’ भन्दा पनि मभित्रको ‘नेपाली मान्छे’ खुसी भयो। त्यहाँ मलेसिया र अन्य देशका इन्जिनियरलाई बाँधको सुरक्षा व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्रक्रियाको तालिम दिनु थियो।
नेपालमा पनि त्यस किसिमका विशेषज्ञताहरूको आवश्यकता छ। मैले कुनै दिन नेपालमा त्यस्तै कार्यक्रम गर्ने सपना बुनेँ। किनभने बाँध र सिभिल इन्जिनियरिङको विषयमा २० वर्षदेखि आर्जन गरेको ज्ञान र अनुभवबारे बोल्न वा लेख्न पाउँदा म दङ्ग पर्छु। त्यो मेरो जन्मभूमि देश नेपाल भयो भने पक्कै मभित्र ऊर्जा थपिँदो हो।
मेरो मस्तिष्कमा क्यानाडा र मलेसियाभन्दा बाँध सम्मेलनमा नेपाललाई फाइदा हुने कति कुरा सिक्न पाइएला र त्यो ज्ञान नेपाली बाँध विज्ञहरूसँग कसरी बाँड्न सकिएला भन्ने जिज्ञासा चलिरहेको थियो। मलेसियाली सरकारको संयोजनमा भएको ‘इन्टरनेसनल कन्फेरेन्स अन ड्याम सेफ्टी एन्ड इन्जिनियरिङ–२०१९’ मा मैले कार्यपत्र प्रस्तुत गर्नुपर्ने थियो।
हाम्रो टोलीको मुख्य काम क्यानाडाको बाँध सुरक्षा सम्बन्धी नयाँ निर्देशिका तालिम दिनु पनि थियो। २३ देशका इन्जिनियरहरूलाई बाँध सुरक्षा व्यवस्थापन, बाँधबाट हुनसक्ने जोखिम, त्यसको रोकथाम र न्यूनीकरण, आपतकालीन तयारी र उद्धार प्रक्रियामा तालिम दिन पाउनु मेरा लागि गर्वको विषय थियो।