राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारीको उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहयोग गर्ने भएको छ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत सावित्राको उपचार सकृय सहयोग गर्ने जानकारी गराएका हुन्।
सावित्रा राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा घाइते भएकी थिइन्।
दायाँ घुँडामा चोट लागेपछि बिएन्डबीमा एमआरआई गरेकी उनको रिपोर्ट मंगलबार आएको छ। रिपोर्टको प्रारम्भिक अध्ययनले घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको र अन्य चोट पनि देखिएको छ।
एन्फा अध्यक्ष शेर्पाले सावित्राको चोटले राष्ट्रिय टिममा अपुरणीय क्षति भएको जनाएका छन्। ‘नेपाली महिला राष्ट्रिय टीमका अत्यन्तै उत्कृष्ट खेलाडी साबित्रा भाण्डारीको जारी लीगमा भएको घाइतेले नेपाली राष्ट्रिय टीमको आगामी दिनहरुमा अपुरणीय क्षति हुने भएको छ।
साबित्रा भण्डारीको स्वस्थ्य उपचारमा एन्फा हरेक कोणबाट उपचारका लागि सकृय रहने र शिघ्र स्वस्थ्य लाभको कामाना पनि गर्दछु,’ अध्यक्ष शेर्पाले लेखेका छन्।
सावित्राले जारी लिगमा १० खेल खेल्दै ४३ गोल गरिसकेकी छिन्। लिगको शीर्षस्थानमा रहेको एपिएफका बाँकी खेलमा मात्र होइन अब एक वर्ष टोलीलाई उनको साथ रहने छैन।
एपिएफलाई लिग च्याम्पियन बन्न अब विराटनगरविरुद्ध जित हासिल गरे पुग्नेछ। लिगको अन्तिम खेल शुक्रबार आर्मी र एपिएफबीच हुनेछ।