बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ । भागरथीको छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ ।
घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।
‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन् । भोलि (बुधबार) उनलाई सार्वजनिक गर्दै छौँ,’ सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले मंगलबार राति नयाँ पत्रिकासँग भने ।
स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले अभियोग स्विकारेका छन् ।
यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् । ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने ।
अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । तर, उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको स्रोत बताउँछ । भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए । ‘समाजमा उनको पृष्ठभूमि नकारात्मक थियो, त्यसैले बसाइँ सरेर एक किलोमिटर पर गएका थिए,’ भागरथीका काका शिवराजले नयाँ पत्रिकासँग भने, ‘यो घटनालगत्तै त्यो केटो डराएको देखिन्थ्यो, ऊ आपैmँ संलग्न थियो अथवा उसले केही देखेको थियो भन्नेमा हामी ढुक्क थियौँ । आज त उसले साबिती बयान दिएको सुन्यौँ ।’