गोरखाली राजामध्ये राज्य विस्तार अभियानको पहिलो प्रयत्न राजा नरभूपाल शाहको समयमा भएको थियो । उनले कान्तिपुर अधीनस्थ नुवाकोटलाई गोरखामा गाभ्न चाहेका थिए । यसका लागि उनले नुवाकोट आक्रमणका लागि काजी महेश्वर पन्थ र सरदार जयन्त रानाको सैन्य नेतृत्वमा गोरखाली सेना खटाएका थिए । तर, गोरखालीलाई सफलता मिलेन । उनीहरूले त्रिशूलीको काठे साँघु जलाएर आफ्नो सैनिक फर्काए ।
गोरखाली सेनालाई नुवाकोट रमाना गराएर नरभूपाल शाह भने इष्टदेवीको पुरश्चरण तथा पूजाआजामा व्यस्त थिए । महेश्वर पन्थ पहिल्यै पुगेर हार्नुको कारण मगरहरूको सुस्ती भएको बताएर चुक्ली लगाइदिएका थिए । जसका कारण जयन्त राना गोरखा पुग्दानपुग्दै पदच्यूत भइसकेका थिए । त्यसपछि विरक्तिएका जयन्त गोरखाबाट पलायन भई नुवाकोटको दक्षिण–पूर्वको कोटगाउँमा घरबास गरी बस्न लागे (बाबुराम आचार्य, ‘श्री बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ २०६१ः७४)।
आफ्नो बुवाले थालेको राज्य विस्तार अभियान असफल भए तापनि पृथ्वीनारायण शाहले गद्दीमा बसेको एक वर्षपछि त्यसलाई निरन्तरता दिए । ‘भाषा वंशावली’ मा उल्लेख भए अनुसार, उनको राज्याभिषेक सकिएपछि विराज थापा (मगर) लाई मुख्तियार बनाई नुवाकोट आक्रमणका लागि पठाइए तापनि गोरखाली फौज त्रिशूली नदी तर्न नसकी खिन्च्यातमा बस्यो । जसका कारण विराज थापालाई बर्खास्त गरी महेश्वर पन्थलाई मुख्तियारी दिइयो । उनी नुवाकोटमाथि आक्रमण गर्न अगाडि त बढे, तर उपत्यकाका तीन राज्य मिलेर प्रत्याक्रमण हुँदा गोरखाली सेनाको लस्कर त्रिशूलीको साँघु पोलेर फिर्ता आयो (आचार्य, उहीः १२३–१२४)।
यद्यपि नुवाकोट कब्जा गर्ने पृथ्वीनारायणको दोस्रो अभियान भने सफल भयो । त्यसबेला गोरखाबाट पलायन भई नुवाकोट बसेका पूर्व गोरखाली सरदार जयन्त राना त्यहाँको उमराव भइबसेका थिए । उनलाई आफूसित मिल्न आउन पृथ्वीनारायणले आमन्त्रण गरे । तर जयन्तले आफूले ‘जयप्रकाश मल्लको नून खाइसकेकाले नूनको गुन छाडेर आउन सक्दिनँ’ भन्ने जवाफ पठाए ।