जिन्दगी अहम र स्वप्न फुलहरू पढेपछि...

युग सर्वनाम

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

कवि सन्जीव राई दाईसँग दशैंको पछिल्लो दिन भेट भयो। उहाँ स्कुटिमा सरर बीजी मल अगाडी मलाई भेट्नु भो। स्कुटिको डिक्किबाट फट्ट एउटा किताब झिक्नुभो। ‘जिन्दगी अहम र स्वप्न फूलहरू’ भाई तिमीलाई उपहार भन्दै मेरो हातमा थमाइदिनुभो। जहाँ लेखिएको थियो, ‘प्रतिभाशाली युवा कवि युग सर्वनामलाई प्रेमोपहार´। जुन पुस्तक मैले रुम पुगिसकेपछि खोले र केही कविताहरू सरसर्ती हेरे अलि भिड्भाडथ्यो। मलाई लाग्यो यो पुस्तक त एकान्तमा बसेर पढ्नुपर्ला जस्तो छ भनी ब्याकमै राखे। त्यसपछि पढ्ने समय मिलिरहेको थिएन। आजभोलि दुई/चार दिन भो मैले लगातार पढेको। पढिसकेपछि मेरा मनले केही लेख्न मन लाग्यो।

कवि `सन्जीव राई´ उहाँ आफैमा सशक्त सौन्दर्य चेत भएको कवि हो भन्नेमा दुईमत छैन। दाईको कविता कृतिमा मिजासिला बिम्बहरू सरल ढङ्गले प्रस्तुत गरिएको छ। जुन बिम्बहरूमा कतै गीतिलय पनि भेटिन्छ।

`जिन्दगी अहम् र स्वप्न फूलहरू´का पाण्डुलिपिभित्र छिरिसकेपछि भावनाहरू भेटे, पीडा देखे, प्रेम उत्सव देखे। भनौ जिन्दगीका जोडघटाउहरूको महाकाव्य पनि भेटे। चिन्ता भेटे, दुर्भाग्य भेटे, मृत्यु आफै मरेको भेटे।

प्रेमको चक्रव्युमा आफू सच्चा प्रेमी हुँदाहुँदै पनि आफुले गरेको प्रेमबाट त्रासदी खेप्दै साचो प्रेम गुमाउने भय लिएर निश्चिन्त, निर्भय भएको बताउनु हुन्छ।

- मैले स्वीकारेँ
भयभित मनले मायाको रक्षा कदापि गर्न सक्दैन भनेर
अनि तत्कालै फुकालेर यो भयको वस्त्र
म निर्वस्त्र भएँ

एक हातमा खुनले लतपतिएको समर्पणको तरवार
र अर्को हातमा अहमको गिँडिएको टाउको बोकेर
म हिँडिरहेछु सन्तुष्टिको बाटो
निश्चिन्त भएर
निर्भय भएर।

भय      

आफूलाई सपनाहरूले ठगेको। सपनाले आफूसँग ठट्टा गरेको। र सपनाहरूबाट आफू एक्दमै रिसाएको तर पनि सपनाहरूले सधै बेवास्ता गरेको बताउनुहुन्छ।

जागराम बस्ने गरेको छु रात- रातभर अचेल
झुक्किएर फेरि 
कुनै अर्को सपना देख्न नपरोस् भनी 
सपनाले त सपना मात्र देखायो मलाई।

सपनाघात

आफ्नो जिन्दगी सबै पीरैपीरको भारी भएको, बरदानमा समेत पीर दिइन्छ भन्ने आफूलाई भ्रम नभएको बताउनुहुन्छ उहाँ।

- बरदान दिन आतुर
ए देवी जिन्दगी कि ! थाहा छ मलाई
मागेर सबथोक पाइन्छ यहाँ 
कुनै झोला तर
खाली छैन मेरो खुशी थाप्नलाई
भरिएका छन् सबै पीरैपीरले, पीरैपीरले।

इसारा जिन्दगीको

कवि सन्जीव दाई। लामो दौड्मा निस्कनुभएको कवि हुनुहुन्छ। उहाँलाई कविता लेखिरहनुस् भन्नै पर्दैन। अझ गीत, संगीतको क्षेत्रमा पनि रुचि राख्नु हुने दाईलाई साङ्गीतिक आकाशमा पनि उदाइरहनु मेरो अनुरोध छ। जिन्दगी अहम् र स्वप्न फूलहरूमा बाह्र दर्जन जति कविताहरू समावेश गर्नुभएको छ। अन्य फुट्कर रचनाहरू विभिन्न पत्रपत्रिका, अनलाईन माध्यममा पनि भेट्न सकिन्छ।

जिन्दगी अहम् र स्वप्न फूलहरू एकदमै सशक्त हुँदाहुँदै पनि। केही एकाईमा अझ त्यसलाई तन्काउन पाएको भए अझै सुनमा सुगन्ध थपिन्थ्यो कि भन्ने मलाई लाग्यो। र केही एकाईहरूमा आवश्यकताभन्दा बढीनै कवितालाई तन्काइएको मलाई भान भयो। प्रेम भित्रको पीडा, र उत्सव खादिएको यो सङ्ग्रहमा। कतै प्रेमभन्दा अलिक अलौकिक दुनियाँमा भागेर आफ्नो जीवनलाई सार्थकता दिन सकिन्छ कि ? भन्ने मलाई लागेको हो। यी त मेरा अबला मस्तिष्कले जुम गरेर हेरेको मात्रै हो।  पाठकको हिसाबले मैले यति लेख्न खोजेको मात्रै हो। खास केही चिजमा सबै चिज हुँदाहुँदै पनि अझै केही चिज भैदिए हुन्थ्यो भन्ने यो मान्छे भ्रमित मनोकांक्षा मात्र हो। यति भन्दै यही टुङ्ग्याउछु।

प्रकाशित मिति: : 2021-02-13 16:23:00

प्रतिकृया दिनुहोस्