गणेश रसिक
यतिबेला ५० वर्ष पुरानो त्यो क्षण सम्झिरहेको छु, जहाँ पहिलो पटक दार्जीलिङे ठिहीमा हाम्रो ‘लेकाली समूह’ दार्जीलिङको कागझोडा रेल्वे स्टेशनको होटलमा बास बस्न पुगेको थियो। दार्जीलिङ पुग्नुको एउटै उद्देश्य त्यहाँको लोभलाग्दो नेपाली सङ्गीतका भलाद्मी श्रोतामाझ लेकाली गीतको स्वाद पस्किनु थियो। कार्यक्रम गर्ने निधो त भयो, तर हामीसँग हार्मोनियम थिएन।
नेपाली सङ्गीतका अग्रज दाजु अम्बर गुरूङ त्यस ताका त्यहीँ हुनुहुन्थ्यो भन्ने थाहा भयो। हामी लेकाली त्यहीँ पुग्यौँ। तर, उहाँले आफ्नो हार्मोनियम दिन नसक्ने बताउनुहुँदा हामी निकै मर्माहत भयौँ। किनभने केही दिन अगाडि काठमाडौँमा भएको 'अम्बर गुरूङ नाइट'मा लेकालीले आफ्नो स्तरबाट सक्दो सहयोग गरेको थियो।
निराश भइरहेको अवस्थामा हामीलाई दार्जीलिङकै युवा सङ्गीतकार मणिकमल क्षेत्रीले डोर्याउँदै दार्जीलिङकै म्युनिसिपल्टी बिल्डिङमा बस्ने गायिका दिदी शान्ति ठटालकहाँ पुर्याउनुभयो। नेपालबाट आएका लेकाली समूहका हामी भाइबहिनीलाई देखेर शान्ति दिदी अत्यन्तै खुशी हुनुभयो। उहाँले आफ्नो हार्मोनियम दिएर हामीलाई ठूलो गुन लगाउनुभयो। २०२७ सालको दशैँ-तिहार बीचको त्यो क्षण आज म झलझली सम्झिरहेको छु, जुन बेला ‘सम्हालेर राख सँगालेर राख’ गीतबाट शान्ति दिदी नेपाली श्रोतामाझ छाइसक्नुभएको थियो।
विद्वत् सभाको गरिमालाई सायद शोभा नदिने नितान्त मेरो व्यक्तिगत गन्थनबाट भनाइ शुरू गर्नुपर्दा कताकता असहज अनुभूति भएको छ। यसमा केही तलमाथि परे मेरो व्यक्तिगत अज्ञानता र कमजोरी सम्झी क्षमा गर्नुहुनेछ भन्ने विश्वास छ।
राजनीतिक भूगोलका आधारमा भिन्न मुलुक र अलग कालखण्ड भए पनि सिर्जना तथा साधनाका आधारमा युगीन मानिने साधक पुस्तासँग जोडिएर हुर्किनुभएकी शान्ति ठटालले परम्पराको सनातनी मार्गभन्दा भिन्न लयमा जे-जसरी आफ्नै मार्ग उभ्याउनुभयो, त्यो स्तुत्य र अनुकरणीय छ। सङ्गीतमा गहिराइको अध्ययनसँगै निरन्तरको साधनाका कारण नेपाली सुगम गीत-सङ्गीत विधामा अग्रणी नाम बनाउन सफल ठटालले २०७६ सालको जगदम्बा-श्री सम्मान पाएको यो क्षण नेपाली गीत-सङ्गीत जगत्को सूचना राख्ने सबैका लागि सहस्र खुशीको क्षण बनेको छ।