आफूले लेखेका कवितामध्ये सबभन्दा धेरै आफू भएको कविता उनलाई 'एक्लै' हो जस्तो लाग्छ। यो कविता शुक्रबार दिउँसो युट्युबमार्फत सार्वजनिक हुँदैछ।
कवि नवराज पराजुलीको कविता हो, 'एक्लै'। संगीत, स्वर र भिडिओमार्फत कविताले पूरा आकार पाइसकेकाले उनी भन्न थालेका छन्, 'एक्लै अब एक्लै छैन।'
नवराज आफू एक्लै रमाउने मान्छे हुन्। तर यो एक्लैले 'कोही यसरी बाँचोस् र कोही यसरी पनि बाँच्न सक्छ' भन्ने आशय बोकेको उनी बताउँछन्।
उनलाई अरू कविता कहाँ, कहिले र कसरी लेखिएको थाहा छ। तर यो कविता एकै बसाइमा नलेखिएकाले याद छैन। युरोप गएका बेला उनलाई कविताको अवधारणा मात्र आएको थियो। सुरूमा कविताका लाइन फुरेनन्, तालहरू फुरे। त्यस्तो ताल जसमा नाच्न सकिन्छ।
त्यो तालले लामो यात्रा पार गरेपछि बल्ल शब्दहरू फुरेको बताउने नवराज भन्छन्, '१६–१७ पद्यहरू छन् कवितामा। तिनलाई मैले स्वतन्त्र रूपमा आऊन् भनेर पर्खिरहेँ। त्यो पर्खाइ करिब ६ महिनासम्म चल्यो र बल्ल कविताले पूर्ण रूप पायो।'