म्याग्दीका पत्रकार प्रताप बानियाँलाई ‘मिडिया सोसाइटी अवार्ड–२०७७’ प्रदान गरिएको छ।
म्याग्दी मिडिया सोसाइटीको चौथो वार्षिक साधारणसभाका अवसरमा आज बेनीमा आयोजित समारोहमा सात हजार १५० नगदसहित उनलाई पुरस्कृत गरिएको हो।
बेनीबाट प्रकाशन हुने ‘रुप्से दैनिक’ पत्रिकाका सहसम्पादक बानियाँ ‘नेपाल टेलिभिजन’, ‘नेपाल समाचारपत्र दैनिक’, ‘उज्यालो ९० नेटवर्क’, ‘धवलागिरि टेलिभिजन’लगायत सञ्चारमाध्यममा आवद्ध छन्।
उनलाई संस्थाका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य सुदर्शनकुमार श्रेष्ठले नगद, सम्मानपत्र र दोसल्ला ओढाउएका थिए।
विसं २०७४ मा जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमका सञ्चालक आवद्ध सोसाइटीले विसं २०७५ देखि वर्षमा एक सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको सचिव अमित विश्वकर्माले जानकारी दिए।
दुई लाखको अक्षयकोषको ब्याजबाट जिल्लामा १० वर्षदेखि काम गरेका एक संस्थाका सदस्य सञ्चारकर्मीलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ। सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य र अमित विश्वकर्मा सम्मानित भएका थिए।