केही दिनदेखि हामी कोरोनाको आक्रमकताबाट अलिकति भए पनि आरामको सास फेर्दैछौं। यसको अर्थ जोखिम पूर्णरुपमा हटिसकेको भन्न खोजिएको होइन। हाल पनि दैनिक केही सय संक्रमितको संख्या देखिने क्रम जारी छ ।विश्वभरी कोरोना भाइरसमा आइरहेको उतारचढाव, नयाँ नयाँ भेरिएन्टको प्रादुर्भाव भइरहेको बेला र सोही समयमा नेपालको वर्तमान राजनीतिक परिस्थितिले गर्दा थुप्रै मानिस भेला हुने सभा- सम्मेलन - विरोध, नारा,जुलुस गर्ने क्रम बढ्दै जाँदा नेपालमा पनि कोरोनाको हुन सक्ने थप जोखिम यथावत नै छ,भनौं झन थप बढेको छ।
कोरोनाले वर्षभरी प्रभाव पारिराख्दा विभिन्न खाले अन्य संक्रामक रोगहरु लगभग देखिएनन् ।यसका पछाडि विभिन्न कारण होलान्। तर यसै समय क्रममा एउटा कोरोनाभन्दा पनि सयौ गुणा घातक रोग भने नेपालमा देखिनै रहयो। त्यो थियो/हो रेबिज रोग। गएको एक महिनामा दुई फरक ठाउँबाट रेबिज रोग लागेका केस म कार्यरत अस्पतालमा आए ।
केही दिन अगाडि एक दम्पति आफ्नो १२ बर्षीय छोरालाई उपचार गराउन अस्पताल आइपुगेका थिए । उसलाई कार्तिक महिनाको अन्तिम हप्तामा रेबिज लागेको कुकुरले टोकेको रहेछ। झनै ध्यानयोग्य कुरा के भने, त्यो टोक्ने कुकुर उनीहरुले आफैले पालेको कुकुर थियो। अविभावकको भनाइ अनुसार सो कुकुर दिनमा गाउँघर डुल्ने गर्दो रहेछ। गाउँघरमा कुकुर बिहान बेलुकी घरमा बस्ने भए तापनि दिनभरी कहाँ जान्छ/के गर्छ भन्ने जानकारी सबैले राख्ने गर्दैन र त्यो त्यति व्यवहारिक पनि देखिँदैन। यस पंक्तिकारले गरेको वर्षौंको अवलोकन, अनुसन्धानमा पनि रेबिज रोग हुनुमा घरपालुवा तर घर बाहिर गइरहने कुकुरको टोकाइ दोश्रो ठुलो कारण हुने गरेको पाएको थियो।
परामर्शको लागि बिरामीको अविभावकलाई भेट्न खोजें।बुवा कतै कोहीसंग सम्पर्कमा व्यस्त रहँदै गर्दा बिरामीको आमालाई रोगको बारे, उनको छोरामा भएको संक्रमणको अवस्था र रोग लागिसकेपछिको हुन सक्ने भवितव्यका बारेमा बुझाउने हिम्मत जुटाउन खोजे।लामो समय देखि रेबिज लागेको बिरामी र उसबाट उसको परिवारलाई पनि संक्रमण लागि सकेपछिको हुने अवश्यसम्भावी तीतो सत्य बुझाउन खोज्दा त्यो बेलाको माहोल कस्तो हुन्छ भन्ने संज्ञान पंक्तिकारले लामो समयदेखि अनुभव गर्दै आइरहेको कुरा हो । रेबिज रोगका लक्षणहरु देखा परिसकेपछि प्रायः मृत्यु निश्चित हुन्छ।