प्रतिभा सम्हाल्नै गाह्रो

बाह्रखरी

काठमाडौं

काठमाडौं । केही वर्षयता नेपाली सांगीतिक क्षेत्रमा अनपेक्षित रूपमा कम उमेरका बालबालिकाले लोभलाग्दो चर्चा कमाइरहेका छन् । यसको पछिल्लो उदाहरण हुन्– सचिन परियार । उनका गीत जति चर्चित छन्, त्योभन्दा धेरै उनको चर्चा छ । युट्युबमा उनको उपस्थिति जति बाक्लो देखिन्छ भ्युज पनि त्यति नै उल्लेख्य छ ।

उनको गीतभन्दा पनि थेगो लोकप्रिय छ । उनको थेगो ‘के छ हजुर’ लोकप्रिय छ । उनलाई गीत गाउन लगाउनेहरूले उनको स्वरभन्दा पनि यही थेगोलाई ‘क्यास’ गर्न खोजेका छन् । उनले युट्युबमा ट्रेन्डिङको स्वादसमेत चाखिसकेका छन् । 

गुल्मीका ९ वर्षीय सचिनको कमेडीलाई युट्युबमा रुचाए पनि उनलाई गीत गाउन लगाउनेहरूले पनि उनको कमेडीलाई समावेश गरेको देखिन्छ । उनले अस्मिता अधिकारी, रचना रिमाललगायतसँग गीत गाइसकेका छन् । उनले गीत गाउने मात्रै होइन अभिनय पनि गरेका छन् । केही दिनअगाडि कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वर रहेको गीतमा राजेश हमालसँगै सचिनले अभिनय गरेका थिए । 

सानै उमेरमा गीत गाएर चर्चित हुने उनी पहिलो व्यक्ति होइनन् । दुई वर्षअगाडि कमला घिमिरेको चर्चा पनि कम लोभलाग्दो थिएन । कलिलो उमेरमै गायनमा प्रवेश गरेर उनले धेरै गीत गाइन् । लोकदोहोरी गायनका ‘भेट्रान’हरूसँग उनले गीत गाउने अवसर पाइन् । 

बद्री पंगेनी, राजु परियार, अमृत सापकोटालगयत थुप्रै लोकदोहोरी गायकसँग उनले गीत गाइसकेकी छिन् । उनी गीत गाउने मात्रै होइन स्टेज कार्यक्रमसमेत गर्न थालिसकेकी छिन् । 

प्रकाशित मिति: : 2021-02-11 07:28:00

प्रतिकृया दिनुहोस्