‘ओलीलाई धिक्कार छ ! ठगीधन्दा चल्दैन, राजीनामा दिनोस्’

अनलाइनखबर

काठमाडाै‌ं

कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नेकपाको अर्को समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल कडारुपमा प्रस्तुत भएका छन् । प्रचण्डले ओलीलाई ‘ठग’ को उपमा दिएका छन् भने नेपालले ‘पापी’ को संज्ञा दिँदै पशुपतिमा बत्ती बाल्दैमा उनको पाप नपखालिने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित विरोधसभामा प्रचण्ड र नेपाल दुबैजना ओलीमाथि खनिएका हुन् । कार्यक्रममा अन्य वक्ताहरुले पनि ओलीलाई तानाशाह र बादशाहको संज्ञा दिएका थिए ।

कार्यक्रमका प्रमुख वक्ता प्रचण्ड र माधवकुमार नेपालले केपी ओलीमाथि लगाएका आरोपहरु यस्ता थिए-

ओलीजी, तपाई ठग हो, राजीनामा दिएर वक्तव्य निकाल्नोस् : प्रचण्ड

 

केपी ओलीले अस्ति भन्नुभयो, जुलुस कस्तो हुन्छ, हामी देखाउँछौं । सभा कस्तो हुन्छ हामी देखाउँछौं । केपीजी, देख्नुभो, सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ? तपाई अझै पनि लाखौं जनताको यो उपस्थिति, यो विरोध र यो आक्रोश, आवेग र पीडालाई बुझ्नुभएन भने म तपाईलाई चुनौती दिन्छु, हेर्नुहोला केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौं लाख जनता आउँछन्, अझ ठूलो उपस्थितिका साथ ।

तपाईको प्रतिगमन, तपाईको निरंकुशता तपाईको लोकतन्त्रको हत्या गर्ने अपराधिक चरित्र नेपाली जनताले बुझिसकेको छ । त्यसकारण जरुरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौं ।

केपीजीतिर गएका मान्छेहरु अहिले र्फकन लाम लागेका छन् । म अहिले लामो लिस्ट भन्न सक्छु । अरु त अरु, उहाँले बनाएका दुईजना मन्त्री पनि फर्किनका लागि मसँग वार्ता गर्दैछन् ।

केपीजी, तपाई भ्रममा कतिदिन बाँच्ने हो ? सक्नुहुन्छ भने आज म तपाईलाई एउटा सल्लाह दिन चाहन्छु, तपाईले साह्रै ठूलो अपराध गर्नुभयो, यो राष्ट्रका विरुद्ध, जनताका विरुद्ध । तपाईले अझै पनि आफूलाई अलिकति ठाउँ राख्ने हो भने तुरुन्तै राजीनामा दिनोस् र पञ्चाताप गरेर वक्तव्य निकाल्नोस् । तपाईलाई अलिकति ठाउँ नेपाली जनताले दिन सक्छन् । तपाई अझै मूर्खता गर्नेमा हुनुहुन्छ, मलाई थाहा छ ।

तर, तपाई अझै निरंकुशतातिर जानेमा हुनुहुन्छ, मलाई थाहा छ । तर, तपाई जति जानुहुन्छ, अघि साथीहरुले भनिसक्नुभो, तपाई त आजकल जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभा’छ । हाम्रो भगवान् जीवित मान्छे, नेपाली जनता हाम्रा भगवान् हुन् । हामी तपाईहरुको शरणमा छौं ।

प्रकाशित मिति: : 2021-02-11 06:25:00

प्रतिकृया दिनुहोस्