उल्टो बाटोमा नेपाली चलचित्र

पदावली, विशेषण र उपाधिकै लोभ ?

बाह्रखरी

काठमाडाै‌ं

निर्देशक मुकुन्द भट्टले सोमबार आफ्नो चलचित्रको टिजर सार्वजनिक गर्दै अभिनेता सौगात मल्ललाई ‘सुपर स्टार’ को उपाधि दिए । टिजर हेर्नेले देख्न सक्छन्– सौगातलाई सुपरस्टार लेखिएको ।
 
अघिल्लो साता करिष्मा मानन्धरलाई आरके इन्टरटेन्मेन्ट ग्रुपले महानायिकाको उपाधिले सम्मान गर्यो । राजेश हमालाई कान्तिपुर टेलिभिजनको तत्कालीन कार्यक्रम ‘रजतपट’ले महानायक भनेको थुप्रै वर्ष भइसक्यो । 

निर्देशक तथा कलाकार झरना थापाले आफ्नो चलचित्र ‘ए मेरो हजुर–३’ मार्फत अनमोल केसीलाई मेगा स्टारको पदावली दिइन् । भुवन केसीका नामका अगाडि सुपर स्टारको उपाधि झुन्डाउन थालेको दशक नाघिसक्यो । नामका अगाडि विशेषण झुन्डाउने सिलसिला जारी छ । तर, ज्ञानेन्द्र शाही शासनकालको सरकारले कवि माधवप्रसाद घिमिरेलाई राष्ट्रकविको उपाधि दिएकोबाहेक आजसम्म कुनै पनि कलाकार तथा साहित्यकारलाई कुनै उपाधि सरकारले दिएको छैन । 

कलाकारको नामका अगाडि विशेषण झुन्ड्याइदिइनुको केही अर्थ नरहेको निर्देशक तथा समीक्षक मनोज पण्डित बताउँछन् । निहित स्वार्थका लागि कुनै व्यक्ति वा संस्थाले कसैलाई कुनै विशेषण दिने गरेको उनी बताउँछन् ।
 
“जसले विशेषण वा पदावधि दिन्छन्, त्यो उनीहरूले आफ्नो निश्चित स्वार्थका लागि गरेका हुन् । व्यक्तिको सोचको परिधि र अध्ययन र मूल्यांकनको सीमाको उपज पनि हो,” मनोज भन्छन्, “राजेश हमाललाई महानायकभन्दा र नभन्दामा केही फरक पर्दैन । कोही व्यक्तिलाई महानायक र महानायिका वा सुपरस्टार भन्दैमा त्यसले हाम्रो समाजमा केही अर्थ राख्दैन ।” 

राज्यले कसैलाई विशेषण वा पदावली दिन थालेको अवस्थामा भने यो बहसको विषय हुन सक्ने अन्यथा यसमा खासै चासो वा बहस गर्नु नपर्ने मनोज बताउँछन् । कुनै व्यक्ति विशेषलाई पदावली दिने व्यक्ति वा संस्थाको विश्वस्नीयता कति छ ? त्यो आमनागरिकले मूल्यांकन गर्ने भन्दै यसलाई गम्भीर रूपमा लिन नहुने उनको दृष्टिकोण छ । 

प्रकाशित मिति: : 2021-02-10 06:47:00

प्रतिकृया दिनुहोस्