सेनाको समन्वयमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन हुँदै

तीन वर्षपछि एनडिसीसहितका कोर्स पढाउने गरी भौतिक र प्राज्ञिक तयारी

नेपाली सेनाको समन्वयमा तीन वर्षपछि सञ्चालन हुने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडियू)को भौतिक र प्राज्ञिक तयारी भइरहेको छ । शैक्षिक सत्र २०८०-८१ देखि कक्षा सञ्चालन हुनेछ । विश्वविद्यालयले भौतिक संरचना तथा पाठ्यक्रम निर्माणका लागि आन्तरिक तयारी थालिसकेको छ ।

नेपाल सरकारले २०७६-७७ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको एनडियूको पढाइ सञ्चालन तीन वर्षपछि सुरु हुनेछ । विश्वविद्यालय त्यसका लागि पाठ्यक्रम निर्माणमा लागेको छ । यसका लागि सेनाले खुला प्रतिस्पर्धाबाट सूर्य खनाल, डा.मीना वैद्यसहित चारजना विषयविज्ञ नियुक्ति गरेको छ । थप तीनजना नियुक्ति गर्न बाँकी छ । सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले शैक्षिक सत्र ०८०-८१ बाट सुरु हुने गरी तयारी भएको जानकारी दिए । 

विश्वविद्यालयमा पहिलो चरणमा स्नातकोत्तर तहबराबरको नेसनल डिफेन्स कोर्स (एनडिसी) पढाइ हुनेछ । एनडिसीमा सेनाका सहायक रथी तहका सैनिक अधिकृत सहभागी हुनेछन् । विश्वविद्यालयमा रक्षा, गृह र अर्थ मन्त्रालयका सहसचिव तहका अधिकृत पनि अध्ययनमा सहभागी हुन सक्ने गरी कोर्सको डिजाइन भइरहेको छ । कोर्सको अध्ययन अवधि ११ महिनाको हो, जसलाई चार सेमेस्टरमा विभाजन गरिएको छ । पहिलो चरणमा विश्वविद्यालयमा आवासीय सुविधासहित ४० शिक्षार्थी सहभागी हुनेछन् । 

प्रकाशित मिति: : 2021-02-09 18:37:00

प्रतिकृया दिनुहोस्