काठमाडौं । नेपालमा दुई सदनात्मक संसदीय प्रणाली विद्यमान छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ सालमा प्रतिनिधिसभा विघटन गरेपछि तोकिएको निर्वाचन हुन नसकेपछि धेरै कुरा प्रभावित हुुँदै जाँदा दुई सदनात्मक संसदीय प्रणालीम प्रभाव परेको थियो । २०६३ मा संसद् पुनःस्थापना भएपछि संविधानसभाको निर्वाचन घोषणा भयो र संविधानसभाले नै संसद्को समेत भूमिका निर्वाह गर्दा करिब १० वर्ष नेपालमा एक सदनात्मक संसद्को अभ्यास भएको थियो ।
दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसपछि करिब अमेरिकी संसदीय प्रणालीसँग निकट देखिने दुई सदनात्मक संसदीय व्यवस्था सुरु भयो । संविधानले गरेको यो व्यवस्था २०७४ सालमा निर्वाचनबाट पूरा भएपछि तीन तहका सरकार र संघमा दुई सदनात्मक र प्रदेश र स्थानीय तहमा एक सदनात्मक संसदीय अभ्यास सुरु भयो ।
संविधानमा प्रतिनिधिसभा सरकार दिन नसकेको एउटा अवस्थामा मात्र विघटन हुने व्यवस्था गरे पनि तीन वर्ष नपुग्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिदिएपछि स्थायी सभाका रूपमा रहेको राष्ट्रियसभा मात्र जीवित छ ।