ओली समूहमा खटपट सुरुः गृहमन्त्री थापा पक्षले बहिष्कार गर्‍यो युवा संघको बैठक

नेपाल खबर

काठमाडौं

गृहमन्त्री रामबहादुर थापा निकट युवाहरुले राष्ट्रिय युवा संघको केन्द्रीय समिति भेला बहिष्कार गरेका छन्।

एकता प्रक्रिया नै नटुंगी ओली पक्षले एकलौटी रुपमा भेला राखेकोले बहिष्कार गरेको थापानिकट नेता वीरु तामाङले बताए। 

आइतबार उद्घाटन भएर सोमबारसम्म चलेको सो भेलामा पूर्वमाओवादीका कुनैपनि केन्द्रीय सदस्य सहभागी नभएको उनले जानकारी दिए।

‘भेलामा उहाँहरु (ओली पक्षको) मात्रै उपस्थिति छ, हाम्रो सहभागिता छैन,’ तामाङले नेपालखबरसँग भने। 

प्रधानमन्त्री ओली र गृहमन्त्री थापा समूह गरी युवा संघमा रहेका दुई वटा समूहबीच एकता प्रक्रिया नटुंगिदै भेला राखिएकोले बहिष्कार गर्नुपरेको उनले दाबी गरे।

‘दुई वटा ध्रुवमा अगाडि बढेको संगठनको पुनसंरचना भएको छैन, संरचना कस्तो हुने, नेतृत्वमा को को रहने र केन्द्रीय सदस्य कति हुने भन्ने सहमति नै नबनी बैठक बसेछ। त्यसमा हामी सहमत हुन सकेनौँ र गएनौँ,’ तामाङले थपे।

प्रकाशित मिति: : 2021-02-08 20:20:00

प्रतिकृया दिनुहोस्