नसुध्रिएका ट्याक्सी : भाडा बढाइदिए रोकिएला त ठगी ?

अनलाइनखबर

काठमाडाैं

२६ माघ, काठमाडौं । शनिबार बानेश्वर क्षेत्रमा ट्याक्सी चालक र व्यवसायीहरुले नाराबाजी गरे । उनीहरुले बन्दहड्तालमा चल्दा सरकारले सुरक्षा दिनुपर्ने लगायतका माग २ वर्षयता गरिरहेका छन् ।

भाडादरको वैज्ञानिक समायोजन गर्नुपर्ने उनीहरुको मुख्य माग छ । २०६९ सालदेखि भाडाको वैज्ञानिक समायोजन नभएकाले घाटामा ट्याक्सी चलाउनुपर्ने नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम बताउँछन् ।

‘यत्रो समय भाडा समायोजन नहुँदा कतिपय ट्याक्सीले बढी असुलेका पनि हुसक्छन्,’ उनी भन्छन्, ‘सरकारले व्यवहारिक तवरले भाडा समायोजन गर्‍यो भने मिटरमा चलेर सेवा दिन कठीनाइ हुँदैन ।’

त्यसबाहेक टुटल, पठाओजस्ता निजी सवारीले भाडामा यात्रु बोक्न बन्द गर्नुपर्ने संघको माग छ । ट्याक्सी धनी र चालकहरुले एपमा आधारित यस्तो सेवालाई यातायात व्यवस्था ऐन विपरित भन्दै आएका छन् । लोकप्रिय बन्दै गएको यस्तो सेवा तत्काल रोक्नपर्ने उनीहरुको माग छ ।

‘२५-३० हजारका थोत्रा मोटरसाइकलसँग २० लाख रुपैयाँभन्दामाथि लगानी रहेका ट्याक्सीले प्रतिस्पर्धा गर्नु परेको छ,’ संघका अध्यक्ष गौतम भन्छन्, ‘सरकारले कानून बमोजिम नै तिनीहरुलाई भाडामा यात्रु बोक्न रोक लगाउनुपर्छ ।’

यात्रु ठगीमा बद्नाम भएका कारण ट्याक्सी चालक र व्यवसायीका मागमा सरकार उदाशीन छ । यात्रुहरु पनि उनीहरुको माग पुरा गर्न आवश्यक देख्दैनन् ।

तर, संघका अध्यक्ष गौतम भन्छन्, ‘निजी सवारीले कानून विपरित यात्रु बोक्दा पनि सरकारले वास्ता गरेको छैन, त्यसमाथि हामीलाई नै अनेक तवरले प्रताडित गर्ने काम भइरहेको छ ।’

प्रकाशित मिति: : 2021-02-08 13:24:00

प्रतिकृया दिनुहोस्