तीन आकाशे पुल निर्माण गरिँदै

File Photo
File Photo

विराटनगर महानगरपालिकाले रु दुई  करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ।

विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो। नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको  कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक)  गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्शा शाखाका प्रमुख अर्जुन थापाले बताए।

विराटगरको सौन्दर्य बढ्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने र मानिसलाई सडक वारपार गर्न सुविधा पुग्ने उद्देश्यले आकाशे पुल निर्माणसँगै विराटनगरको भित्री भागमा नगरपालिकाको खाली जग्गामा सामान्य उद्यान पनि बनाउने नगरपालिकाको योजना रहेको प्रमुख थापाले जानकारी दिए।

विराटनगरको कञ्चनबारी चोकमा रु ७८ लाख, बरगाछी चोकमा रु ६८ लाख र भट्टीचोकमा रु ९३ लाख लागतमा सो पुल निर्माण गर्न लागेको उनले बताएका छन्। छ लेनको मापदण्डअनुसार बन्ने सो पुल फलामका हुने भनिएको छ ।

तीनवटै पुल निर्माण गर्ने गरी योजना अगाडि बढाएको र केही दिनमै यसको शिलान्यास भई चालु आर्थिक वर्षमै योजना सम्पन्न हुने प्रमुख थापाको भनाइ छ। आकाशे पुल निर्माण भएपछि सडकमा जथाभावी सडक काट्ने बानी अन्त्य हुने र यसबाट सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने बताइएको छ। रासस

प्रकाशित मिति: : 2021-02-07 09:41:00

प्रतिकृया दिनुहोस्