काठमाडौं, माघ २४ : प्रधानमन्त्री केपी ओली र तत्कालीन राजा ज्ञानेन्द्रबीच थुप्रै असमानता छन्। प्रधानमन्त्री ओली किसान परिवारमा जन्मे-हुर्के, पूर्वराजा ज्ञानेन्द्र राजदरबारमा जन्मिए, हुर्किए।
ओलीले ‘ग्रास रुट’बाट संघर्ष गर्दै राजनीतिको उचाइ लिए, पूर्वराजा ज्ञानेन्द्र दाजुको वंशनाशपछि राजगद्दीको स्वाभाविक उत्तराधिकारी भए। तथापि, दुवैमा केही समानता देखिन्छन्। त्यसमध्ये पहिलो हो- शासनमा आएपछि सर्वोपरि र अधिकारसम्पन्न भएर बस्न खोज्नु। र, दोस्रो हो- सबैलाई किनारा लगाएर एक्लै हिँड्ने चाहना।
कांग्रेस नेता गुरुराज घिमिरेको विश्लेषणमा लोकतन्त्रको विश्वव्यापी शासकीय मान्यताभन्दा माथि आफूलाई राख्नु र राजनीतिमा एकल प्रभुत्व कायम गर्न खोज्नु दुवैको साझा राजनीतिक चरित्र देखिएको छ। ‘उनीहरूबीच जीवनशैली नै फरक देखिन्छ तर अहिले आएर दुवैमा एउटा चारित्रिक समानता देखिएको छ,’ घिमिरे भन्छन्, ‘जीवन रहेसम्म सत्ता नछोड्ने, आफ्नै पार्टीका साथीहरूलाई पनि सत्ता हस्तान्तरण नगर्ने ओलीको राजनीतिक चरित्र राजा ज्ञानेन्द्रसँग तुलनायोग्य छ।
प्रधानमन्त्रीले लोकतन्त्र र अहिलेको शासन प्रणालीको वकालत गर्नु त एकदमै हास्यास्पद कुरा हो। किनकि, आफ्ना पार्टीका साथीहरूको विरोधलाई पनि उनले व्यवस्थापन गर्न सकेनन्। तर्कसंगत जवाफ दिन सकेनन्। आफू अल्पमतमा पर्दा पनि सत्ता छोड्न सकेनन्।’