यसरी हुँदै छ विकासका नाममा उपत्यकाका पोखरीहरूको विनाश

हिमाल खबर

काठमाडाै‌ं

काठमाडौँ उपत्यकाका पोखरी मासेर भौतिक संरचना ठड्याउने काम राणाकालबाटै शुरु भएको हो। कुन पोखरी मासेर के संरचना बनाइए भन्ने सूची लामै हुन्छ। यसरी विनाश गर्दा ‘सार्वजनिक हित’ को नाम दिँदै विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सार्वजनिक भवन जस्ता संरचना बनाइने गरिन्छ।

मल्लकालीन रानीपोखरी २०७२ को भूकम्पले भत्कियो। पाखेरीबीचको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुग्यो। काठमाडौँ महानगरपालिका र पुनर्निर्माण प्राधिकरणले पोखरी र मन्दिर पुनर्निर्माण थाल्दा यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई बेवास्ता गरेको थियो।

मन्दिरलाई राणाकालीन गुम्बज शैलीमा बनाउने प्रयास भएको थियो। पुनर्निर्माणमा सिमेन्ट, कंक्रिट र रडको प्रयोगको प्रयास पनि भएको थियो। पोखरी सम्पदालाई पूर्णतः ध्वस्त पार्नै लागेको अवस्थामा जनस्तरको निरन्तर विरोधपछि अन्ततः मौलिक प्रविधिको प्रयोग गरी मल्लकालीन शैलीमा नै पुनर्निर्माण भयो।

मासिनै लागेको सम्पदा खबरदारीकै कारण जोगियो। त्यहीकारण सम्पदा पुनर्निर्माणमा रानीपोखरी एउटा राम्रो उदाहरण बन्यो। धेरैबाट प्रशंसा पनि भयो। अब कमलपोखरी पुनर्निर्माणमा यस्तै गरी रैथाने प्रविधि प्रयोग हुने आशा थियो। किनभने सम्पदा पुनर्निर्माण गरिरहेका निकायले रानीपोखरी पुनर्निर्माणबाट पाठ सिकेको हुनुपर्छ भन्ने लागेको थियो। तर, त्यस विपरीत काठमाडौँकै प्रसिद्ध कमलपोखरी पुनर्निर्माण थाल्दा सांस्कृतिक महत्व नै हराउने जोखिम भएको छ।

कमलपोखरीमा सिमेन्टको प्रयोग गरी ढुुंगाको किनार तथा सिँढीहरु बनाइसकिएको छ। थप निर्माण पनि भइरहेको छ। अब पोखरीको पानी सुकाउने र माटो झिकेर प्लास्टर गर्ने भनिएको छ। यसबाट बुझिने एउटै कुरा हो, ठूलो धनराशी खर्चेर ट्यांकरबाट ओसारिने पानीले पोखरी भरिनेछ। तर, पोखरी सम्पदा कायम राख्ने यो सही उपाय होइन। 
 

प्रकाशित मिति: : 2021-02-06 19:24:00

प्रतिकृया दिनुहोस्