विवश वस्ती
त्यो उदासको हाँगामा अल्झिएको दिन थियो।
बिहानदेखि नै बेचैन थिएँ म । मन थियो, पूरै अशान्त र अस्थिर । एकाबिहानै अप्रत्याशित रूपले सुनेको त्यो खबरले मन–मस्तिष्कले बेचैनी ग्रहण गर्नु स्वाभाविकै थियो।
त्यो रूपाको आत्महत्याको प्रयासको खबर थियो । बिहान केही अनलाइन हेर्नेबित्तिकै थाहा पाएँ– त्यो खबरलाई सनसनीपूर्ण ढंगले पस्किइएको थियो । कुनै हेडिङ बिकाउयोग्य थियो, कुनै सामान्य । समाचारमा रूपाले औषधिको बढी डोज खाएर आत्महत्याको प्रयास गरेकी कुरा उल्लेख थियो । धेरै औषधि सेवन गरेपछि बेहोस भएकी उनलाई राति नै अस्पताल पुर्याइएको रहेछ।
मेरा पाइला अस्पतालतिर सोझिए । तीव्र आवेग र गति सम्हाल्दै । अस्पतालको प्रांगणमा पुग्दा उनका केही आफन्त र शुभचिन्तक आइसकेका रहेछन् । मलिन देखिन्थे, सबैका अनुहार । अस्पतालको एउटा कुनामा भने केही टेलिभिजन–पत्रकारहरू कुँडुलो लागेर बसेका थिए । सायद उनीहरू त्यो समाचारलाई कसरी सनसनीपूर्ण बनाउन सकिन्छ भनेर मरमसला जुटाउँदै थिए।
‘के भो अकस्मात ?’ मैले रूपाको भाइलाई सोधेँ । उनी अस्पतालको दक्षिणतिरको सानोतिनो बगैँचाको बगलमा निन्याउरो अनुहार बनाएर उभिइरहेका थिए।
‘धेरै औषधि सेवन गर्नुभएछ, दिज्युले,’ भाइले यति मात्रै भने।
‘कस्तो छ अहिले ?’ केही हडबडाउँदै सोधेँ मैले।
‘ठीकै छ अहिले । आइसियूमा राखिएको छ,’ भाइले भने, ‘डाक्टरहरूले आत्तिनुपर्दैन भनेका छन् । कसैलाई पनि भेट्न दिएका छैनन्।’