हिमाली भेगमा केही हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ।
समुन्द्र सतहदेखि दुई हजार ५०० मिटर भन्दामाथि हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन्।
हिमपातले गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथलीसमेतका मानवबस्तिको जनजीवन निकै प्रभावित बनाएको छ।
हिमाली भेगमा आज मध्याह्नदेखि शरूभएको हिमपात साँझपख अडिएको स्थानीयबासी सुव्वा लामाले बताए। हिमपातले अत्याधिक चिसोपन बढेका कारण उत्तरीभेगका बासिन्दा यतिखेर घरभित्र आगो तापेर बसिरहेका र घरपालुवालाई पानी तताएर खुवाउन थालिएको स्थानीय तेन्जेन लामाले जानकारी दिए।
खेतियोग्य जमिनमा हिउँ नपर्दा यस वर्ष गहुँ, तोरी र आलुजस्ता हिउँदेबालीलाई भने असर पुगेको कृषकले बताएका छन्। हिमपातका कारण पवित्र तीर्थ गोसाइँकुण्डको तलाउ जमेको, धार्मिक मार्ग हिउँले छोपेको, सडक मार्गका ओसिलो ठाउँमा पानी जम्दा बनेको बरफले दुई पाङ्ग्रे सवारी साधन गुढाउन असहज भएको प्रहरीले जनाएको छ।
गत वर्ष जाडोयामको यही समयमा गोसाइँकुण्ड, आमाछोदिङ्मो गाउँपालिकाको ११ वडा र कालिकागापाको राम्चे, स्याउवारी, उत्तरगया पालिकाको तिरू एवं नौकुण्ड पालिकाको यार्सा, घाङमर, दोक्लाङसमेत क्षेत्र प्रभावित हुने गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ।
यस वर्ष गत असोज १५ देखि वर्षा रोकिएका कारण मङ्सिर तथा पुस महिनामा पर्ने हिउँ ढिलो पर्न थालेकोले जलवायु परिवर्तनको असर हुनसक्ने स्थानीय अनुमान रहेको छ। रासस