जनतालाई सास्ती दिएको प्रचण्ड–माधवको आमहड्ताल (भिडियो रिपोर्ट)

कमल प्रभात

काठमाडौं

प्रचण्ड–माधव नेपाल समूहले बिहीबार गरेको आमहड्तालका कारण देशका विभिन्न स्थानमा आगजनी र तोडफोडका घटना भएका छन्। आन्दोलनका कारण सर्वसाधरणले सास्ती ब्यहोर्नु परेको छ।

विभिन्न स्थानमा झड्प हुँदा नेता, कार्यकर्ता र प्रहरी घाइते भएका छन्। 

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झड्प हुँदा नेकपा प्रचण्ड समूहका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनको टाउको फुटेको थियो।

प्रर्दशनकारीले बिहान ६ बजेनै काठमाडौंको सामाखुसीमा एउटा ट्याक्सीमाथि आगजनी गरेका थिए। प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा भएको आगजनी माओवादी द्धन्द्धताका चितवनको बाँदरमुडेमा भएको घटनाभन्दा कम थिएन। ट्याक्सी चालक गाडीभित्रै रहेको अवस्थामा पेट्रोल खन्याएर आगजनी गरिएको थियो। 

दिनभरी एक सरकारीसहित देशभरी १५ वटा सवारी साधन तोडफोड भएकोप्रहरी प्रधान कार्यालयले जनाएकाे छ। 

आन्दोलनकारीले विराटनगरमा क्रुरता देखाए। उनीहरूले एउटा खाजा पसल तोडफोड गरेका थिए। अपरान्ह १२ बजे भएको यो घटनामा आन्दोलनकारीले तातो तेल पोखिदिँदा दुई महिला घाइते भएका थिए।

समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती र उनकी छोरी २२ वर्षीया बबिता घाइते भएका छन्।

नेकपा प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको थियो। उनलाई साँझ हड्ताल फिर्ता लिएपछि छोडिएको थियो।

यस्तै मोरङको उर्लाबारीमा १ सय ८५ राउण्ड गोली भेटिएको छ। जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली भेटिएको हो। 

धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ। बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको थियो।  

त्यस्तै काठमाडौंका विभिन्न स्थानमा आन्दोनकारीले संचारकर्मीमाथि कुटपिट पनि गरे। देशव्यापी आमहड्तालमा प्रचण्ड–माधव नेपाल समूहका १ सय ४८ भन्दा बढी नेता तथा कार्यकर्ता गिरफ्तार भए। 

प्रचण्ड–माधव नेपाल आमहड्ताल सफल बनाउन बिहानैदेखि खटिएका थिए। उनीहरूले आब्हान गरेको आमहड्तालमा सर्वसाधारण जनताले भने दुःख पाएका थिए। तर, नेताहरू गाडी र मोटरबाइकमा घुमिरहेको देखिन्थे।  


 

प्रकाशित मिति: : 2021-02-04 21:09:00

प्रतिकृया दिनुहोस्