सुक्खा वैशाखसम्मै लम्बिने, गर्मी अझ बढ्ने

यो वर्ष हिउँदबाटै सुरु भएको सुक्खा वैशाखसम्मै लम्बिने देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १७ वैशाखसम्म पर्याप्त पानी नपर्ने प्रक्षेपण गरेको छ । हिउँदे वर्षा नहुने भएपछि तापक्रमसमेत औसतभन्दा बढी पुग्ने मौसमविद्हरूको भनाइ छ । 

‘पूर्वी प्रशान्त महासागरमा देखिएको लालिना अझै लम्बिने र त्यसले वर्षा पनि कम हुने भएकाले तापक्रम पनि औसतभन्दा बढी रहने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभाग हावापानी महाशाखाका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन् । विभागले नेपालसहित १२ वटा मुख्य केन्द्रको आगामी तीन महिनाको वर्षा र तापमान आकलन गर्दा यस अवधिमा औसत तापमान सरदरभन्दा बढी हुने सम्भावना ६०–८० प्रतिशत छ । यसैगरी, यो अवधिमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४०–६० प्रतिशत मात्र छ । यद्यपि, सुदूरपश्चिम प्रदेशको उत्तरी क्षेत्रमा वर्षाको सम्भावना देखिएको उसले जनाएको छ ।  

नेपालमा धनगढी, नेपालगन्ज, वीरगन्जलगायत गर्मी अधिक हुने सहर हुन् । धनगढीमा ५ जुन १९९५ मा अधिकतम तापक्रम ४६.५ डिग्री सेल्सियस मापन गरिएको थियो । प्रि–मनसुनसहितका आगामी महिनामा कम वर्षा हुने भएपछि पानीका मुहान सुक्ने, भूमिगत पानीको सतह झन् तल जाने र कृषि उत्पादनमा समेत असर पर्ने कृषिविज्ञहरूले अनुमान गरेका छन् । 

नेपालको कृषि प्रणाली आकाशेपानीमा निर्भर रहन्छ । यो वर्ष बर्खामा पर्याप्त पानी पर्दा रासायनिक मलको अभावका बाबजुद धानको उत्पादन ७० हजार ८३१ टनले बढ्यो । तर, हिउँद सुक्खा हुनुका साथै प्रि–मनसुनमा पनि पानी नपर्ने भएपछि उत्पादनमा असर गर्ने कृषिविज्ञ भोलामानसिंह बस्न्यातले बताए । 

पश्चिम पहाडमा पानीका मुहानको अवस्थाबारे अध्ययन गरेका वातावरणका लागि युवा सञ्जालका अध्यक्ष सनोत अधिकारीले सुक्खाले मुहान सुक्ने समस्या बढाउने बताए । ‘पानी प¥यो भने मुहान रसाउने हुन्छ । खेतीपातीका लागि काम लाग्छ,’ उनले भने, ‘यो वर्ष हिउँदमा खासै पानी परेन । अघिल्ला वर्ष एक महिना मात्र सुक्ने मुहान तीन÷चार महिना पनि सुक्न सक्छ ।’ यो वर्ष हिउँदमा पाथीभरा, ढोरपाटन, डोल्पालगायतका वनजंगलमा डढेलो लागेको छ । सुक्खाका कारण चैत–वैशाखमा यो समस्या अझ बढ्न सक्ने अधिकारीले बताए ।

प्रकाशित मिति: : 2021-02-02 19:13:00

प्रतिकृया दिनुहोस्