विश्वलाई अहिंसाको पाढ सिकाउने भारतीय स्वतन्त्रता संग्रामका ‘आइकोनिक फिगर’ महात्मा गान्धीको आज अर्थात ३० जनवरीमा ७३ औं पुण्यतिथि हो।
महात्मा गान्धी, भारतमा मात्र होइन, विश्वमा श्रद्धापूर्वक लिइने नाम हो। विश्व प्रसिद्ध हस्तीहरू जस्तो कि महान बैज्ञानिक अल्बर्ट आइन्स्टाइन पनि गान्धीको व्यक्तित्वबाट निकै प्रभावित थिए। उनको घरको भित्तामा बरु न्युटनको फोटो झन्डिएको थिएन, गान्धी सधै उनको दिल र दिमागमा थिए।
उनले एकपल्ट भनेका पनि थिए, ‘आउँदो पुस्ताले बिरलै विश्वास गर्नेछ, हड्डी र मासुको शरीर मात्र बोकेर कुनै व्यक्ति यो धरतीमा हिँडिरहेको थियो।’
महात्मा गान्धीको विषयमा अनेकन लेख सार्वजनिक भइसकेको छ। तर, एउटा तथ्यसँग धेरै जानकार नहुन सक्छन्।
त्यो हो, उनको फुटबल प्रेम। गान्धीले आफ्नो व्यवसायिक जीवनको सुरुवात दक्षिण अफ्रिकाबाट गरेका थिए। उनी त्यहाँ रहँदा फुटबल खेलप्रति यति आकर्षित थिए, उनले तीन वटा फुटबल क्लब नै स्थापना गरेका थिए।
गान्धीले डरबन, प्रिटोरिया र जोहानसवर्गमा तीन वटा फुटबल क्लब बनाएका थिए। यी तीन वटै क्लबलाई ‘प्यासिभ रेसिस्टर्स सकर क्लब’ भनिन्थ्यो। यही क्लबमार्फत काला जातिका नागरिकहरू खेलको अंग बन्ने गर्थे।
गान्धी यही फुटबल खेलमा दर्शकसाझ जातियता विरोधी पम्प्लेट बाँड्ने गर्थे। दक्षिण अफ्रिकामा काला जातिको पहिलो फुटबल संघ ट्रान्सवाल इन्डियन फुटबल संघ निर्माण गर्न गान्धीको भूमिका महत्वपूर्ण थियो।
उनले क्लिप रिभर डिस्ट्रिक्ट इन्डियन फुटबल संघ र एसोसिएसन अफ हिन्दु फुटबल क्लब बनाएका थिए।
डरबनमा गान्धी बसोबास गर्ने फिनिक्स बस्ती तथा जोहानसवर्गमा टोलस्टोय आश्रमको मैदानमा काला जातिहरू फुटबल म्याच खेल्थे।
महात्मा गान्धीको हत्या ३० जनवरी १९४८ मा भएको थियो। उनलाई नाथुराम गोड्सेले छातीमा तीनवटा गोली प्रहार गरेका थिए।