सम्माननीय भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको एउटा फेसबुक पोस्टले सोच्न बाध्य तुल्यायो। जीवनमा संस्कारको कति गहिरो प्रभाव एवं महत्व हुँदो रहेछ! आधुनिकताका नाममा धर्म संस्कृतिको पीपल छाया छाडेर विधर्मीको कैक्टस संस्कृतिले विकसित संस्कारमा कति फराकिलो स्पष्ट दृष्टिगोचर हुने कालो र सेतोकै माफिक तात्विक भिन्नता हुँदो रहेछ।
प्रसंग वर्तमानका प्रधानमन्त्री केपी शर्मा ओलीको पशुपति दर्शन एवं पूजा आराधना विषयक हो। केपीज्यूले पशुपति दर्शन उपरान्त आफ्नो निवास पुग्न नपाउँदै देशभरीका मिडिया र उहाँकै पूर्व कित्ताका स्नेहिल जमातको पाचन शक्तिमा आएको विकारले यत्रतत्र वमनको दुर्गन्धले समग्र वातावरण नै प्रदूषित बनायो। सोच्ने फुर्सद त छैन होला प्रधानमन्त्री ओलीज्यूलाई, भए एकपटक त विचार गरी हेर्नु पर्ने हो- ‘अहो, जीवन कस्ताको संगतमा बितेको रहेछ!’
केपीज्यू, अहिले त अनुभति भइरहेको होला, वामपंथ विषवृक्ष हो, यस वृक्षका फल मात्रै होइनन्, लता-लतिका, शाखा-प्रशाखा, पात-पात, कोपिला- कोपिला नै तीक्ष्ण विषले आपूरित एवं सञ्चारित हुने रहेछन। मलाई विदित छैन, तपाईँ कुन भावदशाका अधीन भई पशुपतिको शरणागत हुन जानु भएको थियो, मेरो विचारमा यदि साँच्चै नै तपाईँमा प्रायश्चित र अपराधबोधको अभ्युदय भएको छ भने तपाईले शीघ्र नै एकपटक पुनः पशुपतिनाथ पुगी जीवनभरि विषवृक्षलाई मलजल गरेकोमा क्षमा पूजा अर्चना गर्नु उपयुक्त हुन्छ।