मेरो बुवा एसएल शर्मा भद्रपुर झापामा पत्रकारिता गर्नुहुन्थ्यो । झापाको जेठो पत्रकार । हाम्रो प्रेस पनि थियो, शर्मा प्रेस । त्यहाँबाट ‘मेची सन्देश’, ‘पञ्चामृत’, विवेचना, सिद्धार्थलगायत पत्रपत्रिका छापिन्थ्यो । बुवा पत्रकारितामा संलग्न हुनुभएकाले त्यहाँ पत्रकारहरूको जमघट हुनु स्वाभाविक थियो ।
तर, त्यसबेला मेरो रुचि पत्रकारितातिर खासै थिएन । मैले एसएलसी गर्दासम्म मैले पत्रकारिता गरिनँ । तर, थोर–बहुत लेख्ने काम भने गरिन्थ्यो । अर्थात कविता अलिअलि लेखिन्थ्यो । झापामा रहँदा नै मैले ‘विवेचना’ र ‘सिद्धार्थ’मा लेखेँ । मेरो लेखन भनेको त्यतिकैमा सीमित थियो ।
म २०३१ सालमा काठमाडौं आएँ । काठमाडौं आउनुको उद्देश्य उच्च शिक्षा अध्ययन थियो । काठमाडौंमा आएर ल क्याम्पसमा पढ्न सुरु गरेँ । केही समयपछि नै पत्रपत्रिकाहरूमा लेख्ने क्रम सुरु भयो । यसरी धेरै साप्ताहिक पत्रपत्रिकाहरूमा स्तम्भ नै लेखेँ । जस्तो, पद्मसिंह कार्कीको ‘गतिविधि’मा लामो समय नै लेखेँ । ‘युग सम्वाद’मा पनि लेखेँ । पछि ‘गोरखा एक्सप्रेस’मा पनि लेखेँ । यसरी साप्ताहिक पत्रिकाहरूका माध्यमबाट मेरो लेखनले अलिकति गति लिएको थियो ।
एक समय ‘पर्दा’ साप्ताहिक र ‘उर्वशी’ सिने मासिकमा पनि संलग्न भइयो । यसरी पत्रकारितामा जानी नजानी लाग्दै गइयो । र, अहिले पनि थोर–बहुत संलग्नता पत्रकारितामा छ । साहित्यिक अनलाइन ‘अक्षरंग’सँग जोडिएको छु ।